जयवन्त बिक्रम शाह ।
हिन्दू बहुल समाजमा मनुस्मृति र यसले निर्धारण गरेका उत्पत्ति देखि अन्त्यसम्मका संस्कार,प्रचलन,आचार र विचारले अत्याधिक महत्त्व पाएको छ । बेलायतले भारतलाई उपनिवेश बनाइसके पछि त्यस ईलाकाहरुमा मूलत: मुसलमानहरुले “शरिया” र हिन्दूहरुले “मनुस्मृति” अघि सारे ।

ब्रिटिशहरुले मनुस्मृतिलाई आधार बनाएर “इन्डियन पेनल कोड” बनाईसकेपछि, बिश्वभर मनुस्मृतिले खास चर्चा पायो । भारतीय संविधान मस्यौदा समितिका संयोजक डा. भीमराव अम्बेडकरले सन् १९२७ मा मनुस्मृतिलाई सार्वजनिक कार्यक्रममा प्रत्येक पन्ना पन्ना जलाईसकेपछि भने विवाद,संशय,आक्रोश र एक खालको वितृष्णा पनि सिर्जना भयो-जनमानसमा ।
तथापि यस कार्यको पूर्व पनि भारतमा पेरियर स्वामी तथा स्वामी अग्नीवेशले मनुस्मृतिको दहन गर्नुभएको थियो । हिन्दू धार्मिक समुदायले वेदलाई संविधान र मनुस्मृतिलाई ऐन,कानून सरह मानेको पाउँछौं । जस्तो कि ऋग्वेदको पुरुष सुक्त र मनुस्मृतिको प्रयुक्त श्लोकलाई हेरौं ।
तस्मादश्र्व अजायन्त ये के चोभयादत:
गाव ह जज्ञिरे तस्मात तस्माज्जाता अजावय:।।
ब्राह्मणोस्य मुखमासीद बाहु राजन्य: कृत:
ऊरु तदस्य यद्वेश्य: पद्वयां शुद्रो अजायत ।।
(ऋग्वेद १०/९०/१०,१२)
विराट पुरुषबाट दुबै तिर दाँत भएको र गाई,बाख्रा भेडा आदि उत्पन्न भए । त्यस विराट पुरुषको मुख ब्रह्मज्ञानी,पाखुरा शुरवीर, तिघ्रा वितरण गर्ने वैश्य र गोडा श्रम गर्ने शुद्र भावले प्रकट गराए ।
लोकानान्तु विवृद्ध्यर्थ मुखबाहुरुपादत:
ब्राह्मणं क्षत्रियं वैश्य शुद्रं च निरवर्तयत ।।
(मनुस्मृति १/१४/३३)
अनादि ब्रह्माले लोककल्याणकारी हेतु आफ्नो मुख,बाहु,तिघ्रा र गोडाबाट क्रमशः ब्राह्मण ,क्षत्री ,वैश्य र शुद्रको उत्पन्न गर्नुभयो ।
मनु र धार्मिक मत
मनुलाई सृष्टिको आदि मानवको रुपमा ब्याख्या गरिन्छ । हिन्दू मतको अनुसार प्रथम मनु स्वायंभुव मनु थिए भने स्त्री थिइन् शतरुपा । यिनैबाट नै समस्त मानव संसारको रचना भयो भनिन् । फलतः मनुष्य ,मानिस ,मानव नामाकरण भयो ।यसको जडमा १४ मनुको ब्याख्या गरिएको छ ।
स्वायम्भुव मनु
स्वरोचिष मनु
ओैत्तमी मनु
तामस मनु
रैवत मनु
चाक्षुस मनु
वैवस्वत वा श्राद्धदेव मनु
सावर्णी मनु
दक्ष सावर्णी मनु
ब्रह्म सावर्णी मनु
धर्म सावर्णी मनु
रुद्र सावर्णी मनु
देव सावर्णी वा रौच्य मनु
इन्द्र सावर्णी वा भौत मनु
श्वेत बराह कल्पमा १४ मनुहरुको उल्लेख भए पनि महाभारतमा ८ मनुहरुको मात्र उल्लेख छ । श्रीमद्भागवत अनुसार पनि सृष्टिको प्रारम्भ वैवस्वत मनु र उनकी स्त्री श्रद्धादेवी भएको मानिएको छ ।
सप्तद्वीपवती पृथ्वीमा मनु महाराजको राज्य थियो । यसै समय मनुस्मृतिको रचना भएको मानिएको छ । यही कालका ऋषिहरु मरिची, अत्री,अंगीरस,पुलह,कृतु,पुलस्य र वशिष्ठसहित महाराज मनुले मानव समाजको विकास गर्नुभएको धार्मिक मत छ । मनुस्मृति सृष्टिकर्ता ब्रह्माबाट मनुलाई र मनुबाट भृगु ऋषिलाई प्राप्त भएको मानिन्छ ।
मनुस्मृतिकाल
सन् १९३२मा चीनमा एउटा फलामको ट्याङ्की मिलेको थियो । जापानले गरेको बम विस्फोटको क्रममा मिलेको उक्त ट्याङ्कीभित्र पुरातात्त्विक पाण्डुलिपिहरु थिए । पछि यी पाण्डुलिपिहरु सर आगस्टन रिट्स जाँर्जले ब्रिटिस म्युजियममा बुझाउनु भएको थियो । चीनका राजा शी लेज बाङ्गले आफ्नो शासनकालमा सबै प्राचीन पुस्तकहरु जलाउने आदेश दिनु भएको थियोे । सोही समयमा एक जना विद्वानले ट्याङ्की भित्र हालेर गाडेका थिए । संयोगवश बम बिस्फोट हुँदा ट्याङ्की उछिट्टिएर बाहिर आयो । उक्त पाण्डुलिपि मध्ये एउटामा “मनुको धर्मशास्त्र भारतमा सर्वाधिक मान्य छ । ६८० श्लोकवद्ध धर्मशास्त्र १०,००० वर्ष भन्दा धेरै पुरानो मानिएको छ” भनेर लेखिएको थियोे ।
तर वर्तमानको मनुस्मृतिमा २५००का हाराहारीमा श्लोकहरु रहेका छन् । बुहलर र म्याक्स मुलरले बि.सं.५७ को वरिपरि काश्मिरी क्षेत्रमा मनुस्मृतिको रचना भएको मान्नुभएको छ । ओलीवेली र डेरेटले बि.सं.६००-६५०को समयावधि अनुमान गर्नु भएको छ । जयसवालले मौर्य बंशको अन्त्य पछि शुरु भएको शुङ्ग साम्राज्यको समयलाई मनुस्मृतिको रचनाकाल मान्नु भएको छ । अर्थात् पुष्यमित्र शुङ्गले राज्यभिषेक गरेको ई.पू. १८४ पछिको समय । यसमा उहाँको मत छ,शुङ्गको शासनकाल “ब्राह्मणवादी प्रतिक्रान्ति” काल थियोे र मनुस्मृति यसको दस्तावेज हो ।
उल्झन
झण्डै २५०० का हाराहारीमा श्लोक रहेको मनुस्मृतिमा २००० भन्दा बढी श्लोकहरु ब्राह्मण र क्षत्रीका लागि लेखिएका छन् । बाँकी रहेका श्लोकहरुमा वैश्य र शुद्र तथा सृष्टिको उत्पत्ति ,विकास ,आचार र विचार छन् । ब्राह्मण बिना क्षत्री र क्षत्री बिना ब्राह्मण समाज विकासको बाधकका रुपमा ब्याख्या गरिएको छ । ब्राह्मण ,क्षत्री र वैश्यलाई द्विजातीय मानिएको छ । त्यसैले शुद्रलाई उपनयन गर्न ,कर्मकाण्ड गर्न,पुजापाठ गर्न तथा वेद पाठ गर्न निषेध गरिएको छ । एकै अपराधको सजाय समेत जाति पिच्छेको फरक तोकिएको छ । ब्राह्मणको सेवा गर्नु नै धर्म र स्वर्ग जाने बाटो हो भनिएको छ । शुद्रलाई धन संचय गर्न निषेध गरिएको छ।
स्य शूद्रस्तु कुरुते राग्यो धर्मविवेचनम ।
तस्य सीदति तद्राष्ट्रंपङ्के गौरिव पश्यत: ।। २१ ।। (अध्याय आठ)
जुन राजाका राज्यमा शूद्रलाई न्यायको अधिकारी बनाइएको हुन्छ,त्यस राज्यले भासमा गाडिएको गाईझैँ दु:ख पाउँछ ।
एकजातिर्द्विजातींस्तु वाचा दारुणया क्षिपन ।
जिव्हाया: प्राप्नुयाच्छेदं जघन्यप्रभवो हि स: ।। २७०।।
(अध्याय आठ)
शुद्रले ब्राह्मण, क्षत्रीय र वैश्यलाई पापी, अपराधी आदि क्रूर वचन बोल्यो भने त उसको जिब्रो छिँड पार्ने दण्ड दिनुपर्छ । किनकि, उसको उत्पत्ति नै जघन्य स्थानबाट भएको हो ।
नामजातिग्रहं त्वेषामभिद्रोहेण कुर्वत: ।
निक्षेप्योयोमय: शङ्कुर्ज्वलन्नास्ये दशाङ्गुल: ।। २७१ ।।
(अध्याय आठ)
यदि शूद्रले रिस वा घमण्ड गरेर ब्राह्मणादी द्विजातिको नाम लिन्छ्भने दस अङ्गुल लामो पोलेर तातो पारेको फलामको सुइरो पुरै त्यसका मुखमा हालिदिनुपर्छ ।
धर्मोपदेशं दर्पेण विप्राणामस्य कुर्वत: ।
तप्तमासेचयेत्तैलं वक्रे श्रोत्रे च पार्थिव: ।। २७२ ।।
(अध्याय आठ)
यदि शूद्रले अहंकारवश कुनै ब्राह्मणलाई धर्मको उपदेश दिन्छ भने राजाले उसको मुख र कानमा उम्लँदै गरेको तेल हाल्न लगाउनुपर्छ ।
अवनिष्ठीवतो दर्पादद्वावोष्ठौ छेदयेनृप: ।
अवमूत्रयतो मेढ्मवशर्धयतो गुदम ।। २८२ ।।
(अध्याय आठ)
राजा र ब्राह्मणमाथि घमण्ड गरेर थुक्ने शूद्रका दुबै ओठ, लिङ्ग र मलद्वार काट्न लगाउनुपर्छ ।
केशेषु गृह्णतो हस्तौ छेदयेदविचारयन ।
पादयोर्दाढिकायां च ग्रीवायं वृषणेषु च ।। २८३ ।।
(अध्याय आठ)
शूद्रले रिसाएर ब्राह्मणको केश, गोडा, दाह्री, गर्धन या अण्डकोश समात्यो भने राजाले केही नसोचिकन त्यसका दुबै हात काट्न लगाउनुपर्छ ।
शूद्रं तु कारयेद्दास्यं क्रीतमक्रीतमेव वा ।
दास्यायैव हि सृष्टोसौ ब्राह्मणस्य स्वयंभुवा ।। ४१३ ।।
(अध्याय आठ)
किनेको होस् वा नहोस् शूद्रबाट नोकरको काम गराउनुपर्छ, किनभने ब्रह्माले ब्राह्मणको सेवाका लागि नै उसलाई बनाएका हुन् ।
ब्राह्मणान्वाधमानं तु कामादवरवर्णजम ।
हन्याच्चित्रैर्वधोपायैरुद्वेजनकरैर्नृप: ।। २४८ ।।
(अध्याय आठ)
शूद्रले जानिबुझिकन ब्राह्मणलाई दु:ख दिन्छ भने राजाले शूद्रलाई अनेक प्रकारका दु:खदायी उपायले मार्नुपर्छ ।
मूलत: मनुस्मृतिमा यस प्रकार लिखित ब्यवस्था गरिएकाे हुनाले जात-थरकाे आधारमा जातिय विभेद,छुवाछुत,शाेषण र उत्पीडन भईआईरहेकाे रहेछ ।
(१)हिन्दु धर्म शास्त्रका विभेदपूर्ण सन्धर्भहरु सामान्यत: वेद,गीता,उपनिषद,पुराण हुँदै मूलत: मनुस्मृतिसम्म देख्न सकिन्छ :-
#किनिएको भएपनि त्यसै पाइएको भएपनि शुद्र लाई दास बनाएर राख्नु ,किनभने बिधाताले ब्राह्मणको दास हुनका निमित्त नै शुद्रको सृष्टि गरेका हुन् ( मनुस्मृती , ८ / ४१३)
#शुद्रहरु अरुका कमारा हुन् र स्वेच्छाले तिनीहरुलाई राख्न र निकाल्न पाइन्छ ! (ऐतरेय ब्राह्मण)
#मालिकले त्याग गरेपनि शुद्र जाति दासताबाट छुट्न सक्दैन किनभने कमारो बन्नु नै त्यस्को स्वाभाविक कर्म हो । त्यो कसरी छुट्न सक्छ ? ” (मनुस्मृती ८/४१४)
#यदि कुनै शुद्रले लोभमा परेर उच्च जातिले अपनाएको ब्यवसाय गर्छ भने सर्वस्वसहित तुरुन्तै देशनिकाला गर्नु !” ( मनुस्मृती १०/९६)
गैर आर्यहरुले आफ्ना सन्तान बेच्दा वा बन्धक राख्दा कुनै दोष हुँदैन,तर आर्य मूलको मान्छे दास हुन सक्दैन !”(कौटिल्य अर्थशास्त्र )
शुद्रलाई बुद्धि नदिनु कुनै वर्तको उपदेश पनि नदिनु ।”(मनुस्मृती ४/८०)
# ब्राह्मणले गर्ने जप-होम आदि काम गर्न खोज्ने शुद्रलाई राजाले मृत्युदणड दिनु, किनभने पानीले आगो निभाए झैं जप-होम आदि गर्ने शुद्रले सम्पूर्ण राष्ट्रलाई नष्ट गर्दछ ।”(आत्रीसंहिता-१९)
# शुद्रले वेद सुनेमा सिषा र लाह पगालेर उसको कानमा हाली दिनु, वेदको मत्र उचाराण गरेमा जिब्रो काटीदिनु,वेदमन्त्र कण्ठस्थ गरेमा ज्यानै खतम गरिदिनु,उसले आशन विस्तरा बाटो आदिमा उच्च जातिसङ्ग टाँसिन खोजे १०० पण दण्ड गर्नु ।”(गौतमशुत्र – १२)
शुद्रलाई जुठो अन्न,पुराना कपडा , ओछ्याउनलाई पराल र ओढ्नलाई थाङ्ना-भोत्रा दिनु ।”(मनुस्मृती १०/१२५)
जतिसुकै धन कमाउन सक्ने भए पनि शुद्रहरुलाई धन संग्रह गर्नु हुँदैन । किनभने शुद्र धनी भयो भने त्यस्ले ब्राह्मणलाई नै बाधा पुर्याउछ ।” (मनुस्मृति १०/१२९)
शुद्रजातिले ब्राह्मण-क्षेत्री र वैश्य जातिप्रति कडा वचन बोल्छ भने त्यस्को जिब्रो काटीदिनु पर्छ,किनभने जिब्रो काटिने जघन्य अपराध त्यस्ले गरेको हो ।”(मनुस्मृती ८/२७०)
बाहुनको सेवा-सुश्रुषा र दासत्व गर्नु नै शुद्रहरुको विशिष्ट काम मानिन्छ । यदि दास र शुद्रले अरुकाम गर्न खोजे भने त्यो विफल हुनेछ ।” मनुस्मृती (१०/१२३ )
शुद्रजातिका लागि एउटा मात्र काम निर्धारित गरिएको छ ।त्यो इर्ष्र्यारहित भएर मालिक वर्गको सेवा गर्नु हो ।” (मनुस्मृती ८-१-९१)
शुद्र वा दासले बाहुनको कपाल समात्छ भने कुनै किसिमको छानविन वा विचारै नगरी उसका दुवै हात काटी दिनुपर्छ तथा बाहुनका दार्ही,खुट्टा,घाँटि वा अण्डकोष मात्र छुन्छ भने पनि उसका हातहरु पूरै काटीदिनु पर्छ ।”(मनुस्मृती ८/ २८१)
बुद्धि,विवेक र योग्यताले सम्पन्न शुद्रले राज्य-शासनका बारेमा कुनै पनि मूर्ख वा अविवेकी राजालाई उचित वा अनुचित सम्बन्धी कुराको विवेचना मात्र गर्छ भने त्यो पूरै राष्ट्र हिलोमा फसेको गाई झैं हुन जान्छ ।” ( मनुस्मृती ८/२२)
जुन ठाउँमा दास र शुद्रहरुको संख्या धेरै छ,जहाँका मानिस तर्कशील छन्,जहाँ बाहुनहरुको खास गणना गरिँदैन अथवा बाहुनहरुका बारेमा आलोचना पनि गरिन्छ,त्यस्तो ठाउँ चाडै नै विनाश हुन्छ र त्यहाँ ठूलो बिद्रोह आदि सृजना हुन्छ ।”( मनुस्मृती ८/२१)
अन्तत: खराब आचरण भएको मानिस आदि ब्राह्मण जातिको छ भने,त्यो पुजनीय हुन्छ र असल आचरण भएको मानिस यदि शुद्र जातिको छ भने,त्यो निन्दनीय नै हुन्छ । किन भने कसैले पनि दुष्ट वा बैगुनी गाई नदुहेर गदहीलाई त अवस्य पनि दुहुँदैन ।”(मनुस्मृती ८/२३)
चाहे आफैले बनाएको धार्मिक नीति अनुसार होस वा अर्कालाई फकाई-फुस्लाई गरेर होस या छल-प्रपन्च,जालझेल गरेर होस्,हरेक तरिकाबाट आफ्नो मतलव पूरा हुने आर्थिक साधनहरु जुटाउन पछि पर्नु हुँदैन । यदि कसैले वा तल्ला जातिका मानुषले ब्राह्मण वा क्षेत्रीयले चाहे अनुसारको सम्पत्ति दिँदैन भने, त्यसलाई बाँधेर हुन्छ कि ? घरमा थुनेर हुन्छ कि ? पिटपाट गरेर हुन्छ कि ? जुनसुकै बल प्रयोग गरेर हुन्छ,आफूले भने अनुसारको धन असुल-उपर गर्नु पर्छ ।”( मनुस्मृती ८/४९/५०)
वेद बिद्या जानेको बाहुनलाई सबै जातका मानिसले आफ्नो धन,जीवन,घर र सम्पूर्ण कुराहरु दिनु उचित हुन्छ ।” (मनुस्मृती ११/७६)
वेद पढ्न जानेका बाहुनलाई आफूले सकेको धन दिनै पर्छ किनभने बाहुनलाई धन-सम्पत्ति दियो भने स्वर्ग जान पाईन्छ ।” (मनुस्मृती ११/६)(२)हिन्दु धर्मभित्रका जातिय छुवाछूत, बिभेद र जातिय अत्याचार वेद-गीतादेखि स्मृति पुराण, उपनिषद र मनुस्मृतीसम्म दलित बिरुद्ध लेखिएका धार्मीक सिद्धान्तहरु यस प्रकार देख्न पाईन्छ :-
शुद्रलाई दास बनाएर राख्नु किन भने विधाताले ब्राह्मणको दास हुनको निम्ति नै शुद्रको सृष्टि गरेका हुन ।” (मनुस्मृती, ८/४१३)
जप-होम आदि गर्न खोज्ने शुद्रलाइ राजाले मृत्युदन्ड दिनुपर्छ किनभने पानीले आगोलाई निभाउछ, त्यसरी नै जप-होम आदि गर्ने शुद्रले सम्पूर्ण राष्ट्रलाई नै नष्ट गर्दछ ।” (आत्रीसहिँता, १९)
स्त्री र शुद्रलाई पढ्न दिनु हुँदैन ।” (मनुस्मृती , ६/७)
जतिसुकै धन कमाउन सक्ने शक्ति भएता पनि शुद्रले धन कमाउने कुरा सोंच्नु पनि हुँदैन,किनभने शुद्रले धन कमाएमा ब्राह्मणलाई सताउन थाल्छ, ।”( मनुस्मृती ,, १०/१२९)
आफ्नो दास,चाकर र शुद्रले कमाएको धन मालिक (ब्राह्मण)ले खोस्न हुन्छ । किनभने शुद्रको आफ्नो भन्ने धन नै केही हुँदैन ।” (मनुस्मृती, ७/४१७)
गैर आर्य,म्लेच्छ मूलका मानिसहरुले दास बनाउनको निम्ति आफ्ना सन्तान बेच्दा र बन्धक राख्दा कुनै दन्ड हुँदैन तर आर्य मूलको मान्छे दास हुन सक्दैन ।”(मनुस्मृती,३/१३)
यदि शुद्रले द्वीजाति(ब्राह्मण, क्षेत्रीयहरु)लाई कडा बोलीले गाली गर्यो भने त्यसको जिब्रोकाटी दिनु ।” ( मनुस्मृती,८/२७०)
ढोलक (बाजा),शुद्र,गाउँले,पशु र नारी यिनीहरुलाई नपिटीकन काम आउँदैन ।” (बाबा तुल्सीदास रामायण )
शुद्रले पुरानो फाटेको बस्त्र लगाउनु,बाहुनको जुठो पुरो खानु, आफ्नै स्वास्नीसङ्ग मात्र संभोग(रतिकृया) गर्नु र अर्काकी आइमाईदेखि टाँढै रहनु । शुद्रले सँधै मन- वचन- कर्मले यसप्रकार आचारण गरेमा उस्को सम्पुर्ण पाप नष्ट हुन्छ ।
————————————————————————-यसका साथसाथै नेपालकाे प्राचीन इतिहासलाई केलाउँदै आउँदा,नेपाल(गाेरखा राज्य) हुँदै,विशेषत: राणाकालसम्म आउँदा,नेपाल मुलुकमा तात्कालीन शासक तथा हुनेखाने सामन्त वर्गकाहरुले जात-पात,छुवाछुत र भेदभाव गर्ने,गराउने र गर्न लगाउने गरेका घटनाहरु निकै नै भएका पाईन्छन् । जस्तै :- १- ब्राह्मण(बाहुन)बाट कामी,दशनामी,गन्धर्व र वादी बनाईएकाे(जातच्युत गरिएकाे) । २-ठकुरीबाट सार्की बनाईएकाे ।(पृथ्वी नारायण शाहले आफ्नै शशुरालाई सार्की बनाएका थिए ।) ३-क्षेत्रीबाट दमाई बनाईएकाे । ४)सिद्धार्थ गाैतम बुद्धका मावली देशका वासिन्दाहरु(हालकाे नवलपरासी)का मल्लहरु कान्तिपुरका मल्ल नेवार र यहि नवलपरासीका अन्य उच्च वर्गकाहरुलाई राणाकालमासमेत श्रेष्ठ नेवार बनाईएकाे । यसरी मान्छेका जाति, जात,थर र बाेली,शैली एवं ब्यवहारहरु तल-माथि तथा दायाँ-बायाँ गर्ने शासकीय-सामन्ती अभ्यासहरु मूलत: हिन्दूस्तान र नेपालका इतिहासहरुमा देख्न पाईन्छन् । आदि…….यसाे गर्नका मूल कारणहरुमा :-
१)राजा,राज परिवार,मालिक,मालिकका परिवार,उपल्लाे वर्गकाहरुले आज्ञा,हुकुम गरेकाे अर्थात भनेकाे नमान्नू ।
२)लिएकाे ऋण-सापटी तिर्न नसक्नु ।
३)कानूनी,सामाजिक र राजनीतिक अपराध गर्नु ।
४)धार्मिक-साँस्कृतिक पाप गर्नु ।
५)विभिन्न कारणहरुले मनमुटाव भई,वैरभाव-दुश्मनी हुनु ।
अत: कुनै ईश्वर-परमेश्वरले जातपात,छुवाछुत र भेदभाव गरेकाे नभई,यहि दुनियाँमा अर्थात यहि देशका शासक-हुनेखाने पहुँचवाला वर्गका मानिसहरुले नै यस्ता अमानवीय जघन्य चलन-थितिकाे थालनी गरेका हुनाले र चलाउँदै आईरहेका हुनाले,याे अमानुषिक आपराधिक विभेदयुक्त प्रचलन अहिलेका हामी नेपाली मानिसहरुले नै न्याय प्राप्तिका लागि बलपूर्वक ताेड्नु पर्दछ र याे घृणित कुसँस्कार तथा कुसँस्कृतिबाट पूर्ण र समग्र रुपले मुक्ति पाउनु पर्दछ,दिनु र दिलाउनु पर्दछ ।
इतिहासमा नेपालमा जङ्गबहादुर राणाको पालामा बनेकाे १९१० को मुलुकी ऐन मनुस्मृतिको छायाँ जस्तो लाग्छ । यसमा प्रयुक्त विभेदयुक्त न्याय-सजाय, जातजातिको वर्गीकरण,शैक्षिक र पूँजीमाथिकाे निषेधाज्ञा-प्रतिबन्ध तथा सामाजिक बहिष्करण आदि हेर्दा लगभग एउटै मनोवृत्तिको देखिन्छ । कतिपय धार्मिक सुधारकहरु मनुस्मृति मात्र हिन्दु धर्मग्रन्थ हो र ? भन्नुहुन्छ । तर हिन्दू बहुल जातिको वसोवास रहेको नेपाल र भारत जस्ता ठाउँहरुमा (जन्मदेखि मृत्युसम्म,अझ ८४जुनी र ३३ काेटीको कुरा छ ।)मनुस्मृतिबाटै निर्देशित धार्मिक परम्परागत सत्ता मात्रै होइन,सामाजिक-सांस्कृतिक मूल्य,मान्यता र आदर्शसमेत स्थापित भएका छन् । समाजको शिक्षित भनिएको जमातसमेत मानसिक रुपमा मनुस्मृतिबाटै निर्देशित र परिचालित देखिन्छन् । मनुस्मृतिले हिन्दू बहुल समाजमा गहिरो गरी जरा गाडेको छ । तसर्थ समाजकाे प्रचलन,सँस्कार र विकासलाई वैज्ञानिक,आधुनिक र न्यायसँगत समतामूलक तथा मानवतायुक्त बनाउन राज्य सत्ताका साथै धार्मिक परम्परागत सत्तामा पनि समयसापेक्ष परिवर्तनको आवश्यकता रहन्छ र अग्रगामी रुपान्तरण गर्नु,गराउनु र गर्न लगाउनु पर्दछ ।










