Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङकाे दश स्थानियतहका नागरिककाे नजरमा (रास्वपा)

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 2, 2023

मुकुन्द कृष्ण थापा ,खोटाङ्।  राजनीतिको मुल धारमा स्थापित हुन रक्तमुछेल क्रान्तिको बाटो नै हिडेर आउनुपर्ने परम्परागत नेपाली राजनीतिको शृङ्खलालाई तोड्दै छोटो समयमा नै राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो शक्ति बनेर उदाएको छ ।

गत २०७९ को निर्वाचनमा बिना उम्मेद्बार, बिना प्रचार प्रसार, बिना संगठन समानुपातिक तर्फ १४९७ मत दिएर रास्वपालाई खोटाङ जिल्लाले गुन मात्रै लगाएको थिएन, स्वयं जिल्लाले पनि पटकपटक निसास्सिएको दुर्गन्धित राजनीतिबाट विकल्पको अक्सिजन खोजिरहेको संकेत गरेको थियोे । पार्टीले वर्षगाँठ मनाउनु भन्दा करिब २ महिना अघि मात्र सदरमुकाम दिक्तेल बजारमा सम्पर्क कार्यालय स्थापना गरि जिल्लाको राजनीतिलाई तरङ्गित बनाएर आफ्नो उपस्थितिको शुभमुहुर्त गरेको थियो ।

सांगठनिक स्वरुप प्रदान गर्ने कामको सुरुवात गर्न र खोटाङ्गे जनताको भावना, आशा, अपेक्षा, सल्लाह, सुझाव ग्रहण गर्नको लागि तथा यो नयाँ पार्टी अरु भन्दा के कसरी फरक छ भन्ने कुरा जनतालाई बुझाउनको लागि सतही रुपमा सरसर्ती जिल्लाको भूगोल भ्रमण गर्ने निर्णय गरियो । जातीय धार्मिक सहिष्णुताको प्रतीक/आस्थाको रुपमा रहेको पुर्वको पशुपतिनाथ हलेसी महादेवस्थानबाट डाक्टर राजकुमार राई र म दुई जनाको टोलीले यात्रा सुरु गर्ने कार्यक्रम तय गरियो । हामी दुई फरक समुदायबाट मात्र होइन, फरक उमेर समुहका पनि थियौँ । उहाँ झन्डै ३० वर्ष लामो अनुभवी राजनीतिज्ञ तथा पाको परिपक्व व्यक्ति र म नितान्त नयाँ आलोकाँचो युवा दुबैजना गन्तव्य एउटै बनाएर यात्रामा निस्कियौँ । 

हलेसी तुवाचुङ नगरपालिका ओर्लिन साथ भेट भएका एक स्थानीय बासिन्दाले काङ्ग्रेसले दिएको करारको जागिर छोडेको कुरा सुनाउनुभयो । उहाँ रास्वपामा आउने तयारीमा हुनुहुँदोरहेछ। रास्वपाप्रति सुरुमै आएको सकारात्मक प्रतिक्रियाले हामी अझ आशावादी भयौं ।  बाटोमा जम्काभेट भएका उपमेयर रमेश राउतले पुराना पार्टीका अधिकांस असन्तुष्ट व्यक्तिहरु रास्वपामा प्रवेश गर्ने प्रतिक्रिया दिनुभयो ।

बेलुका हलेसी बजारमै बास बसि बिहान नुनथलामा खाना खाएर रावाबेसी गाउँपालिकातिर जाने ओरालो बाटो हिँड्न सुरु गरियो । केहि दिन अघि मर्केको मेरो देब्रे खुट्टा सुन्निन र दुख्न कम भएको थिएन । हिँड्ने क्रममा बेलाबेलामा मुर्छा परुन्जेली दुखेपनि बाटोभरी लटरम्मै पाकेका एेँसेलुले हामीलाई गरेको न्यानो स्वागतले सबै दुखाइहरुलाई भुलाइ दिएका थिए । स्थानीय पोख्रेलले ऐसेलुले गुलियो भएको हाम्रो मुखलाई नुन खुर्सानीसँग काँक्रो चखाउनु भयो ।

उहाँले गत चुनावमा पुराना पार्टीका एक उम्मेदवारले निर्वाचनको आचार संहिता उल्लंघन गर्दै भोट मागेको प्रसङ्ग सुनाउनुभयो । भोट दिने टुङ्गो नभएका मतदातालाई पाइप र कन्फम भोट हाल्नेलाई हिल्ट्याङ्क र सोलार बाँडेका रहेछन् । मत किन्ने कुसंस्कारले चुनाव लड्नेहरुलाई अझै छोडेको रहेनछ । नेपालका कुनै पनि पार्टी ठिक छैनन् भन्दै माओवादी नेता टङ्क रेग्मी सक्रिय राजनीति छाडेर लिची, आम्रोपाली जातको आँप र एभोकाडो लगाएतका फलफुलको खेती गरेर गाउँमै रमाइरहेको अवस्थामा भेटिनुभयो ।

उहाँले रबि लामिछाने विवादित छबि भएकोले रबि नराम्रो तर रास्वपा राम्रो लाग्ने बताएर आफ्नो राजनीतिक धर्म निभाउनुभयो । कुबिन्डे हराम्टार गाउँका माओवादीका स्थानीय नेता दाहालले देशमा गठबन्धनको राजनीतिले दिक्दार लागिरहेको बेला घण्टीको आवाजले खुसी लागेको बताउनु भयो । घण्टीको सोच विचार धेरै राम्रो भएकोले गत निर्वाचनमा भोट हालेको एक स्थानीय काङ्ग्रेस नेतृले बताउनुभयो ।

पुराना पार्टीका एकजना समानुपातिक उम्मेदवारले नै घण्टीमा भोट मागेछन् ! यो कुरा आफ्नो नाम नखुलाउने एक स्थानीय मार्फत थाहा पायौं । रावाखोला तरेर साँझ डुम्रे धारापानी स्थित एक घरमा पुगियो । त्यहाँ सप्ताह पुराण लगाइएको रहेछ । अनुरोधलाई स्वीकार गर्दै सोही घरमा बास बस्ने निर्णय गरियो । पुराण वाचन र नाचगानले दिनभरिको थकानलाई विर्साइदियो ।

जमघटमा भेला भएकाहरु बीच भएको कुराकानीमा एक युवाले आउने चुनावमा दल परिवर्तन नगरे पनि मत परिवर्तन गर्नुपर्ने विचार व्यक्त गरे तर अर्को जनाले मतसँगै पार्टी पनि परिवर्तन गर्नु उचित हुने धारणा राखे । पुराणमै सहभागी अर्का युवाले संघीय संसदको चुनाव लड्न जति पटक पनि पाइने तर स्थानीय चुनाव चाहिँ दुई पटक भन्दा बढी लड्न नपाइने प्रावधानप्रति असन्तुष्टी पोखे। ढाका टोपी लगाएका एक ब्यक्तिले जनप्रतिनिधिहरुलाई खबरदारी गर्नुपर्ने आवश्यकता औल्याए ।

कपाल खौरिएर मुडुलै भएका अर्का एक जनाले प्रदेशमा उम्मेदवार नउठाएको रास्वपाको प्रसंशा गर्दै राप्रपाको संघीयताको पनि बिरोध गर्ने र प्रदेशमा उम्मेदवार पनि उठाउने दोहोरो चरीत्रबाट जनता रुष्ट रहेको बताए । ९२ वर्षीय प्रभुराम पाण्डेले, राणा शासनकालमा फटाहालाई ठाउँको ठाउँ जुँगा उखेलेर सजाय दिएको घटना प्रत्यक्ष देख्नुभएको रहेछ । अहिलेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा कानुनको पालना र कार्यान्वयन फितलो भएको भन्दै उहाँ चिन्तित हुनुहुनुभयो ।

बिहान सबेरै उठेर आफ्नो गन्तव्यतिर अगाडी बढ्यौं । दुबेकोल राउटारमा उकालोको यात्रालाई केहिबेर विश्राम लिएर तिर्खा मेट्नको लागि बाटो नजिकैको एउटा घरमा पस्यौँ । २०७९ सालको निर्वाचनमा खटिएका शिक्षकको घर रहेछ ।
घण्टीको चिन्ह खै भनेर मतदाताले मतपत्रमा खोजेको आवाज धेरै सुनिएको अनुभव पानी पिउँदै गर्दा सुन्यौं । तल पहाडको फेदमा रावाखोला गन्तव्यमा पुग्न आफ्नै रफ्तारमा नागबेली हुँदै बगिरहेको थियो ।

हामी ऐसेलुखर्क पुग्ने लक्ष्यका साथ उकालो चढ्दै थियौं । गलेर हैरान भएका हामी एउटा घर नजिकै बनाएको चौतारीमा बस्यौं । हामीलाई चिसो पानी पिलाएका सोही घरका युवाले जो आए पनि देश उभो नलाग्ने, अब देश श्रीलंका बन्ने आक्रोश मिश्रित निराशा पोखे। हिँड्दै जाँदा सोही गाउँको बाटोमै घाँटीमा घण्टी बाँधेका गाइवस्तु रहेछन्, हामी नजिकैबाट सिङ र पुच्छर अठ्याउदै हिड्यौँ, तर हान्न त परको कुरा फाँफुसम्म पनि गरेनन् ! सायद हामी घण्टी पार्टीको मान्छे भनेर चिनेको कारणले होला भन्ने हाँस्यास्पद अनुमान लगायौ ।

साँझ हामी ऐसेलुखर्क बजारको बसपार्क अगाडी पुग्यौं । पानी किन्न पसेका हामीलाई बसपार्क अगाडीका किराना व्यावसायीले अब जो आएपनि काम छैन शैनिक शासन लगाउनुपर्छ भन्ने आक्रोशपुर्ण अभिव्यक्ति दिए । ऐसेलुखर्क बजारमै पत्रकारद्वय दमन राई र राजकुमार सरगमसँग जम्काभेट भयो । केहि वर्ष पहिले सरगमजीले सोलु एफ.एम. १०१.२ मेगाहर्जको कार्यक्रम मुक्तक लहरमा मेरा केही मुक्तकहरु वाचन गरेको कुरा स्मरण गराउनुभयो ।

बेलुकाको ७ बजिसकेको समयमा एमालेका स्थानीय नेता रामेश्वर राइले हामीलाई निमन्त्रणा गर्दै आफ्नो घर आउन बजारबाट हिडेर ३० मिनेट लाग्ने बताउनुभयो । जङ्गलको अँध्यारो बाटो हिँड्न हामीलाई ठ्याक्कै १ घन्टा लाग्यो । पालिका र वडामा एमालेलाई जिताउन निकै सकृय भुमिका खेल्नुभएका उहाँले अब खुलेरै रास्वपामा लाग्ने बताउनुभयो ।

टेलिभिजनमा कार्यक्रममा लामिछाने जसरी प्रस्तुत हुन्थे आजकल त्यो कम भएकोमा चित्त उहाँको चित्त दुखाइ रहेछ । हार्डवेयर व्यापारी मदन कुमारी राजभण्डारीले राम्रो गर्दै गए समर्थन गरिन्छ होहोरेमा कुदिहाल्ने हामी अब लाटा जनता होइनौं भन्दै सचेत अभिव्यक्तिले हामी पनि खुशी भयौं। ऐसेलुखर्क बजारदेखि केही तल राईको कृषी फार्म अवलोकन गरेर थप प्रगति र उन्नतिको कामना गर्दै यात्रा अघि बढाइयो ।

एमालेकाराईले काङ्ग्रेस मन नपर्दा एमाले, एमाले मन नपर्दा काङ्ग्रेस हुने जनता अब दुबै मन नपरेकोले घण्टी भन्ने स्वर ज्यादा सुनिएको बताउनुभयो । पातेल गाउँमा हेर्दै रिंगटा चल्ने ठुलो भिरको बाटो रहेछ । राजकुमार सरले बामे सर्दै र मैले दौडिएर डराउँदै डराउँदै पार गरियो । मनमनै सोचेँ राजनीतिका यस्ता हजारौं अफ्ट्यारा भिरहरु पार गर्नुपर्नेछ । रावा खोला तरेर आइरहेका निकै ठूलो झोला बोकेका  एक व्यक्तिसँग भेट भयो । विभिन्न पार्टी हुँदै जसपा सम्मको अनुभव बटुलेर हाल एमालेमा सक्रिय रहनुभएको उहाँ केपिलास गाउँपालिकाका स्थानीय नेता नवराज गुरुङ हुनुहुँदोरहेछ ।

“हामीले जस-जसलाई भोट हालेपनी क्षेत्री बाहुनलाई नै ठूलो बनाइरहेका छौँ । घण्टी, हँसिया हथौड़ा, सुर्य, रुख जेमा भोट हालेपनि काम छैन । राम्रो गरे पनि नराम्रो गरेपनी एमाले काङ्ग्रेसले नै गर्छन्” भन्दै रास्वपाको राजनीतिक भविष्य नदेखेको बताउनुभयो । रावा खोला नजिकैको खेतमा एक वयोवृद्ध व्यक्ति  खनीरहनु भएकोथियो ।

राखा बाङ्देलका ७८ वर्षीय नन्दुराज राई हुनुहुदोरहेछ । खेतको डिलमा बसेर केहिबेर कुरा गरियो । गाउँमा युवाहरूले घण्टी पार्टी आउन लागेको बताएको कुरा आफुले धेरै सुन्ने गरेको बताउनुभयो । भोकले बिहानको ११ बजाउन लागेको घडी पटक-पटक हेर्न बाध्य पारेको थियो । रावा खोला आसपास नजिकमा कुनै पनि घरहरु थिएनन् । धुवाँ आइरहेको नजिकैको एउटा गोठमा पुग्यौं । एक महिला भेटीनुभयो। आफैले खान ठिक्क पारेको खाना (निगुरोको तरकारी र मोहिसँग) हामीलाई खुवाउनुभयो । राजकुमार सरले जीवनमा पहिलोपटक यति स्वादिष्ट निगुरोको तरकारी खाएको बताउनुभयो । ती  ४० वर्षीय महिलाका ७ सन्तान रहेछन् । श्रीमान रक्सिले मात्दै गाउँमा बिना काम हल्लिएर हिँड्ने गरेको पिडा सुनाउनु भयो । कुरा सुनेर मैले जनगायक जेवी टुहुरेको “आमा दिदीबहिनी हो…” भन्ने पुरानो गीत अझै पनि सान्दर्भिक रहेछ भन्ने महशुस गरेँ ।

उहाँले गाउँ गाउँमा घण्टी पार्टी आउन लागेको कुरा युवाहरूबाट सुन्नुभएको रहेछ । चलचित्रकको कथा जस्तो जीवन भोगिरहनु भएकी ती महिलालाई हृदयबाटै आभार प्रकट गरी बिदा भयौं ।
त्यसपछि बाक्सिला बजार जाने उकालो बाटोलाई चुनौती दिन सुरु गर्यौ, जवाफमा हामीलाई उकालो बाटोले पसिनाले नुहाइदियो अनि लखतरान हुने गरि गलाइदियो पनि ।

खत्री गाउँका सुमन अधिकारीले खाटमा गुन्द्री ओछ्याएर दिएको चिसो मोहिले अलिकति भए पनि गर्मी र उकालोले थकाएको ज्यानलाई आराम दिलायो । सुमनले गाउँका धेरै युवाहरु रास्वपामा आउन चाहेको बताउनुभयो । दैनिक जसो फोन सम्पर्क गरेर हाम्रो यात्राबारे जिज्ञासा लिइरहनु भएका कागेश्वरी मनहरा नगरपालिका काठमाडौका पार्टी नगर सभापति गणेश बस्नेतले राजकुमार सरसँग ठट्यौली गर्दै भन्दै हुनुहुन्थ्यो, “तपाइँहरु त्यहाँ हिड्नुहुन्छ मेरो पो यहाँ खुट्टा दुख्छ” ।

चौतारीमा थकाइ मारिरहेका चेरेङ्खा गाउँका जसपाका कार्यकर्ता इमान राईसँग आधा घन्टा जति गफ गरियो । उहाँले रास्वपाको भविष्य उसको सङ्गठन कति बलियो बनेको छ भन्ने कुरामा भर पर्ने कुरा गर्नुभयो । बाक्सिला बजार नजिकैको उकालोमा हिँड्दै गरेकी वृद्धा नरमायासँग भलाकुसारी गर्दै गर्दै बाक्सिला बजार पुग्यौं । उहाँले छोराको सल्लाह अनुसार घण्टीमै भोट हाल्नुभएको रहेछ । केही स्थानीयबासीहरु र एमालेका प्रभावशाली नेता राईसँग घण्टौँ राजनितीक कुराकानी गरेर बाक्सिला बजारको बसाईलाई बिट मार्दै यात्रालाई खार्मीतर्फ अगाडी बढायौँ । बिहानको नास्तामा उसिनेको आलु खाने इच्छाले चोखुम कात्तिके गाउँस्थित सपना खत्रीको घरमा पुगियो । उहाँले अहिलेसम्म भोट नहालेको बताउँदै बाँदर आतंकले आफुहरु विस्थापित हुन लागेको दुखेसो पोख्नुभयो । 
तावा खोला तरेर खार्मी जाने उकालो लाग्यौं । खार्मीको माटो टेक्नसाथ धेरै बर्ष पहिले दिक्तेल बजारको घरमा खार्मी गाउँकै एक व्यक्तिले ल्याइदिएको ओखलको याद आयो ।

आर्थिक अवस्था निकै नै कमजोर भएका उहाँको मुद्दामामिला बुबाले निशुल्क लेखिदिएर जिताइदिएको खुसीमा काठको ओखल (झन्डै ५० केजीको) नाम्लोले बोकेर ल्याइदिएका थिए । बाटोमा भेटिनु भएका खार्मीका यम बहादुर राईले रास्वपा संघीयता विरोधी, राजावादी र राप्रपाको फोटोकपी नै हो भन्ने पहिलेको आफ्नो बुझाई गलत रहेछ भन्ने कुरा अब महसुस हुन थालेको बताउनुभयो ।

बाटोमा हिँड्दा हिँड्दै मेग गर्जन सहित मुसलधारे पानी पर्यो । एउटा गोठमा गएर ओत लाग्ने बित्तिकै अनुहार नदेखिने गरि प्लास्टिक ओढेका एक व्यक्तिले लामा लामा सिङ गरेका गोरु बाँध्न त्यही गोठतिर कुदाउँदै ल्याए । डरले झोला टिपेर दुबै जना कुलेलाम ठोकियो । पानीमा रुझ्दै रुझ्दै एउटा घरमा ओत लाग्न पुगियो । त्यो घर अघि गोठमा भेटिएका व्यक्तिको रहेछ । अनेरास्ववियुबाट राजनीतिको अनुभव बटुलेका ती युवाको नाम निर कुमार श्रेष्ठ रहेछ ।

पानी नरोकिउन्जेल गफ गरियो । उनले रास्वपालाई गत चुनावमा पनि भोट मागेका रहेछन् । सम्पर्क नम्बर आदनप्रदान गरेर बिदा भयौँ । जनम श्रेष्ठको घर जाने बाटो नदेखेर १ घन्टा जति अलमल भयो । श्रेष्ठ परिवारको न्यानो आतिथ्यता पश्चात् भेला भएका गाउँका ७/८ जनासँग पिँढीमा बसेर केही घण्टा भलाकुसारी गर्‍याैँ । निकै वर्ष राप्रपामा आस्था राखेका युवा श्रेष्ठले अब रास्वपाबाटै सकृय राजनिती गर्ने सोचमा रहेछन् । खार्मीबाट हिँड्दै पाथेका बजार पुगियो । पाथेका बजारकी अनु बानियाँले घण्टीलाई भोट हालेको स्मरण गर्नुभयो ।

हेमलाल गिरि, नरबहादुर गिरि लगायत भेला भएका ७/८ जना स्थानीयहरुसँग निकै बेर गफ गर्‍याैँ । आफू काङ्ग्रेसको कार्यकर्ता भएपनि समानुपातिक मत घण्टीमा खुलम खुल्ला मागेको बताउनुभएका नरबहादुर गिरिले कार्यकारी प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने बताउनुभयो ।

पाथेका बजारबाट बिदा हुँदै सदरमुकाम दिक्तेल बजारमा पुग्नासाथ भेटिएका बाम्राङका कर्ण कार्कीसँग भेट भयो । विविध कारणले बजारस्थित समता स्कुल संचालन गर्न एकदमै समस्या भएको रहेछ । अघिल्लो दुई पटकको चुनावमा वडाध्यक्षमा पराजित भएका लफ्याङ गाउँका माओवादी नेता प्रेम बहादुर कटवालसँग झन्डै ३ घन्टा जति चर्काचर्की गफ गरियो ।

सोही गाउँका केही युवाहरु पुरै गाउँलाई नै रास्वपामय बनाउन आतुर रहेछन् । दिक्तेल-१ कि महिला व्यावसायी बस्नेतले पनि घण्टीमा भोट हाल्नुभएछ । सहपाठी मित्रहरु सुवासचन्द्र राई, दिपक बस्नेत, सोम बस्नेत, सुधिर शाक्य, राम बहादुर कटवाल, पोस्तक कटवाल, गोपाल आचार्य, हरिबोल आचार्य, नवराज रिजाल, देवान बस्नेत र आदरणीय गुरु काजी खतिवडासँग करिब दुई दशकपछी यात्राको क्रममा जम्काभेट भयो ।

दिक्तेल बहुमुखी क्याम्पस र सरस्वती उच्च मा.वि.मा शिक्षण पेशालाई निरन्तरता दिइरहेका मित्र सुवासचन्द्र राइजीसँग बाल्यकालको स्कुले जीवन र त्यसपछिका आरोह अवरोह अनि समसामयिक विषयमा निकै बेर भलाकुसारी गरेर बिदा भइयो । दिक्तेल बजारको दुई दिने बसाई पछि याम्खा गाउँतिर लाग्यौं । बाटोमा भेट भएका सेरा खाल्लेका वृद्ध मेष बहादुर कटवालले अब घण्टीमा भोट हाल्नलाई अनुरोध गरिरहन नपर्ने बताउनुभयो । 

याम्खा गाउँमा काङ्ग्रेसका एक चर्चित युवा नेताले जस्तासुकै मान्छे पनि प्रवेश गर्दा/गराउँदा रास्वपा जस्तो लोकतान्त्रिक पार्टीमा इमान्दारहरु अल्पमतमा पर्ने खतरा हुनसक्ने बताए । रास्वपाको राम्रो इमेजले नै चुनाव जित्न सक्ने सम्भावना उनले पनि देखेका रहेछन् । राष्ट्रियताको सवालमा रास्वपा बोल्नुपर्ने धारणा उनको थियो । महेन्द्रोदय मा. वि. मा पढाउने एक शिक्षकले गत निर्वाचनमा अरु चुनाव चिन्हमा भोट हालिसकेपछि घण्टी चिन्ह रबिको पार्टीको रहेछ भन्ने थाहा पाएछन् । उक्त कुराले अझैसम्म पनि थकथकी लागेको कुरा सुनाए ।  


गाउँ छोड्ने क्रम पनि तीब्र रहेछ । एकै दिन ७ घर बसाइँ सरेर गएको नमिठो घटना कोट गाउँका स्वास्थ्यकर्मी सौजन राईले सुनाउनुभयो । हामी हिँडिरहेको बाटो नजिकैको खेतमा प्रवीण राई बाँदर खेद्दै हुनुहुन्थ्यो । पुराना पार्टीका नेताहरु पनि यी बाँदर जस्तै फटाहा भएको बिम्बात्मक प्रतिक्रिया दिनुभयो । घर नजिकै गाईवस्तु चराउँदै गरेका याम्खाका वृद्ध काजी खत्रीले आफ्नो पुरै गाउँ रबि लामिछानेको फ्यान भएको बताउनुभयो ।

घडीले दिउँसोको १२ बजाउनै लागेको थियो । बाटोमा भेटिएकाहरुसँग कुराकानी गर्दै खुट्टामा टाँसिएका जुका फाल्दै फाल्दै उकालो चढ्यौं । कोशी प्रदेश समिति सदस्य मन्जु बिष्टको घरमा खाना खाएर हाम्रो यात्रालाई अघि बढ्यो । हामी खुलाल थापाहरुको पुर्खेउली थलो नाली गाउँ नजिकै रहेको ओख्रे स्कुलमा पुगियो ।

मेरो बुबा लगायत अधिकाङ्स थापा बन्धुहरुसँग धेरथोर समय अध्ययनको साइनो गाँसिएको स्कुल थियो त्यो । स्कुल नजिकै बन्द अवस्थामा रहेको होटेल बाहिर चार्ज नभएर स्विच अफ भएको हामी दुबैको मोबाइललाई ३०/४० मिनेट जति चार्ज गरियो । सो अवधीको फाइदा उठाउदै दुबैजनाले बेन्चमा झोला सिरानी हालेर थकाइ मेटायौँ ।

नाली गाउँ नजिकैको खरुवा खोलामा बाख्रा चराउँदै गर्नुभएकी वृद्धा ललिता थापासँग केहिबेर उभिएरै कुरा गर्यौँ । उहाँले टेलिभिजन हेर्दा नेताहरूले देश बेचिसकेछन् भन्ने लागेको बताउनुभएपछि राजकुमार सर र म नबोलिकन एक अर्कालाई हेराहेर गर्‍याैँ । हिँड्दा हिँड्दै झमक्कै साँझ परेकोले पञ्चमी बजारमा बास बस्ने निर्णय भयो । बास बसेको कोठा बाहिर दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी उपप्रमुख सहितको समुहमा कुराकानी भइरहेको थियो ।

समुहका एक जनाले अर्को पटक खोटाङ जिल्लामा पनि घण्टी निकै राम्रोसँग बज्ने भनेको वाक्य हाम्रो कानसम्म आइपुग्यो । बिहानै उठेर सिम्पानी बजारतिर लागियो । कुलागाउँमा शिक्षण पेशा अपनाइरहेका अर्जुन थापासँग केही बेर कुराकानी गर्‍याैँ । उहाँले गत निर्वाचनमा आफुले घण्टीमा भोट हालेको स्मरण गर्नुभयो । ट्वा खोलाको सुसाइ र टाढाबाट देखिएको सिम्पानी बजारले सहिद दिलकाजी कार्कीको सम्झाना गरायो ।

आत्मसमर्पणको सट्टा मृत्यु रोज्ने उहाँका सपनाहरु कति पूरा भए होलान् ? भन्ने प्रश्न मस्तिष्कमा निकै बेर घुमिरह्यो । पुल तरेर पारी जानू पर्ने हामी गफै गफमा सिँचाइको लागि बनाएको कुलोलाई बाटो सम्झिएर गलत ठाउँतिर लागिएछ । बाटो भुलेर निकै समय खोलाको जङ्गलमै अलमल भयो । दिनको १२ बज्नै लागेको थियो । खुट्टामा लागेका जुका फाल्दै हिँडेका हामीले दाउरा चिर्न झर्दै गरेका गाउँलेको मद्दतले बल्लतल्ल मुलबाटो पत्ता लगायौँ । चिपृङको एक पसलमा भोकको उपचार गर्न पुग्यौं ।

पसलकी साहुनीले नास्ता दिदै हामीलाई प्रश्न गर्नुभयो, रास्वपाको काम पनि पुरानै पार्टीको जस्तै भयो भने के हुन्छ ? नास्ता चपाउदै मैले उत्तर फर्काएँ “त्यो मुलुक र जनताको लागि दुर्भाग्य हुन्छ अनि अहिलेकै ब्यथितीले अरु कयौं वर्ष निरन्तरता पाउनेछ” । दिउँसो ४ बजेतिर सिम्पानी बजार पुगियो । प्रतीक्षालयमा भएको सामुहिक कुराकानीमा सहभागी सबैले एकै स्वरमा अब घण्टी पार्टी भन्दा अरु दायाँबायाँ नहेरिने प्रतिबद्धता जनाए । बेलुका सिम्पानी बजारमै बास बस्यौं । बिहान सबेरै हाम्रो यात्रा खोटाङ बजारतिर सोझिन्छ ।

आफुलाई पुर्व सांसद बिशाल भट्टराईको काका बताउने खोटाङ बजारमा किराना पसल गर्ने एक वृद्धसहितका स्थानीय बासीहरुले एकै स्वरमा जनताहरु पुराना पार्टीबाट वाक्क दिक्क भएकोले अब आउने कार्यकाल घन्टी पार्टीलाई हेर्न चाहेको बताए । बारहपोखरी बजार पुग्ने लक्ष्यका साथ ओरालो झर्यौं ।

गलेर थकाइ मार्न चौरमा आ-आफ्नो झोला सिरानी हालेर आधा घण्टा जति निदायौँ । गाडीको बाटो घुमाउरो भएकोले राजकुमार सरले पुरानो गोरेटो बाटो हिडौँ भन्नुभयो । भित्तो अठ्याउदै २ मिनेट जति त हिड्यौ तर तल हेर्नै नसकिने अत्यन्तै साघुरो भिरको बाटो भएकोले डरले फर्किएर गाडीकै बाटो हिड्यौँ । गन्तव्यमा पुग्न कहिलेकाही बाटो परिवर्तन गर्नुपर्नेरहेछ भन्ने कुरा यो अप्ठ्यारो बाटोले महशुस गरायो । सावा खोलामा पुग्दा अँध्यारो हुन लागेको थियो जङ्गल छिचोलेर बस्ती भेट्न अझै घन्टौँ उकालो हिड्नुपर्ने थियो ।

अन्धकारलाई मोबाइलको उज्यालोले चिर्दै हामी उकालो चढ्दै गयौं । दुई घन्टा लगाएर तामाङ बस्ती भएको खोर्साने गाउँ भेटियो । घडीले बेलुकाको नौँ बजाइसकेको थियो । अब हाम्रा खुट्टा एक पाइला पनि हिड्न सक्ने अवस्थामा थिएनन् । बीच बाटोमै दुबै जना घ्याचै बस्यौं । मोबाइल बालेर हामीतिर आउँदै गरेका महिलाहरुलाई हामीहरु बाटो हिँड्दा हिँड्दै अभर परेको कुरा बताएपछि उनीहरुले नै बासको ब्यवस्था मिलाइदिए  ।

बिजुली बत्तीको अभाव र बाँदर आतंकले गाउँलेहरु हैरान रहेछन् । बिहानै त्यो गाउँबाट बिदा भएर बराहपोखरी बजारतिर लागियो । उकालो बाटोमा स्कुल जादै गरेका मध्य केहि विद्यार्थी भाइबहिनीहरु चुडिएर गाँसेका चप्पल लगाएर अनि हातमा किताब र कलम च्यापेर ओरालो झर्दै थिए । उक्त नमिठो दृश्यले आफ्नो अतितको स्कुले जीवन सम्झायो । हिड्दा हिड्दै थाकेर ढुङ्गामा बसेका १० कक्षामा पढ्ने एक जना बिद्यार्थी भाइलाई राजकुमार सरले “अब जान्नेलाई छान्ने” भनेर लोगोमा लेखिएको अक्षर पढ्न लगाउनुभयो तर ती उनले राम्रोसँग पढ्न जानेनन् ।

अहिलेको गुणस्तरहिन शैक्षिक अवस्था/नीतिले खल्लो बनाएर झस्कायो । बराह पोखरीको सिरानमा पर्ने एउटा गाउँको एउटा घरमा पस्यौँ । हात खुट्टा काम्ने रोगले पीडित भएका एक ७१ बर्षिय वृद्ध हुनुहुँदो रहेछ । उहाँले चुनावको समयमा जनता रक्सी र चुरोटमा बिक्ने गरेको यथार्थ पस्किनुभयो । ओरालो बाटो झर्दै बराह पोखरीको मन्दिरमा पुग्यौं । स्थानीय राधा गिरि र शान्ता राइले पुरै गाउँ घण्टी पार्टीमा लाग्न आतुर रहेकोे बताउनुभयो । 
प्रकाश अधिकारीको घरमा पुगेर दिउँसोको २ बजे खाना खाइयो ।

सुर्यले डाँडापारी लुकेर साँझको निम्तो दिँदै अँध्यारो घोप्ट्याउन थालिसकेको थियो । प्रकाशजीको घरबाट बिदा भएर हामी डाँडाखर्क गाउँ पुग्न उकालै उकालो लाग्यौं । उकालो सकिनसाथ भेटिएको सुन्दर समथर गाउँ देखेर हामीमा उकालोको थकान निमेषभर पनि टिकेन । केहिबेरमा १२/१५ जनाको छलफलमा एमालेका स्थानीय नेता जगत खड्काले घण्टीमा भोट नहालेको कारण छोराछोरीले आफुलाई धेरै गाली गरेको कुरा सुनाउनुभयो ।

उहाँले यो पार्टी जातियतामा जान्छ कि जादैन ? भन्ने प्रश्न गर्नुभयो । बाराहपोखरीका हरि कार्कीले रास्वपाले पनि अरु पार्टी जस्तै भिजन एउटा देखाउने काम अर्को गर्ने त होइन ? सत्ता र भत्ताको मोहमा फस्ने त होइन ? रबि पनि पछि गएर प्रचण्ड जस्तै त नहोलान ? रास्वपा पनि पुरानै पार्टी जस्तो त नहोला ? भनेर प्रश्नहरुको चाङ तेर्स्याउनुभयो । ७६ वर्षिय कर्ण बहादुर खड्काले ६ दशकसम्म पोखरीको मन्दिरमा घण्टी हल्लाउँदा हल्लाउँदा गरेको यो हातले अब राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी हल्लाउन मन लागेको बताउँदै पुरानो लुगा फाटे पछि नयाँ लुगा सिलाउनु पर्ने कुरा व्यक्त गर्नुभयो ।

बाराहपोखरीबाट बिदा हुँदै यात्रा चिसापानीतिर सोझियो । ठाडो जङ्गलको बाटो काट्न मलाई एक घन्टा र राजकुमार सरलाई डेड घन्टा बढी लाग्यो । हामी भन्दा अघि लागेकी २४/२५ वर्षकी एकजना युवती यस्तो सुनसान घना जङ्गलमा एक्लै कसरी हिड्न सकेकी होलिन् ? हामी निकै आश्चर्यमा पर्‍यौँ । जङ्गलको उकालो सकिनसाथ बाटोमै एउटा घर रहेछ । घरबेटी आमाले वरिपरिका धेरै जसो बसाइ सरेर तराई झरेकाले आफुहरु पनि के गर्ने भनेर दोधारमा परेको सुनाउनु भयो । खाना खाएर उहाँहरुलाई बसाइँ नसर्न अनुरोध गर्दै बिदा भयौं ।

बराहपोखरिको सुन्दर दृश्य ओझेल पर्न अन्कनाइरहेको थियो । बाटोभरी दायाँ बायाँ लटरम्मै फलेका एेँसेलु र काफल टिप्दै खादै ४ बजेतिर चिसापानी बजार पुगियो । काङ्ग्रेसका केहि स्थानीय नेता कार्यकर्ताहरुसँग राजकुमार सर गफिनु भयो । चिसापानी बजारकै एक सफल उधमी व्यावसायी दिलीप राईसग जिल्लाको आर्थिक समृद्धिको बारेमा निकै बेर भलाकुसारी गरेर बिदा भयौं । हरेक बिहान जस्तै हाम्रो यात्राको अन्तिम बिहान पनि मैले आफ्नो नित्य कर्म सकेर राजकुमार सरलाई उठाएँ । राजकुमार सर र मेरो बानीमा केही भिन्नता रहेछ ।

उहाँ छिटो सुत्ने छिटो/धेरै निदाउने ढिलो उठ्ने र म चाहिँ हत्तपत्त निन्द्रा नलाग्ने ढिलो/ थोरै निदाउने छिटो उठ्ने, उहाँ अत्याधिक चिया पिउने उस्तै परे दिनको १० कपसम्म र म भरसक सकेसम्म चिया पिउन मन नपराउने तर हाम्रो हिँडाइको रफ्तारमा भने समानता रहेछ । गाइघाटबाट काठमाडौको गाडी चढ्न बिहान बङ्सिलाघाटतिर जाने बोलेरोमा चढियो । त्यही बोलेरोमा यात्रारत गाउँको स्कुलमा कम्युटर विषय पढाउने मोरङ घर भएका शिक्षकले ०८४ सालमा घण्टी बज्ला त ? भन्ने प्रश्न गरे । लोकसेवा परिक्षाको तयारी गरिरहेका कालिकोट जिल्ला घर भएकाले अर्का ब्यक्तिले ०८४ सालमा घण्टी निकै चर्कोसँग बज्ने उत्तर फर्काए । शिक्षक सेवा आयोग तयार गरिरहेकी चिसापानी घर भएकी एक बिद्यार्थीले रास्वपाबारे आफुलाई थाहा नभएको बताइन् । बिच बाटोमा उपचारको लागि अस्पताल जान लागेका एकजना अशक्त बिरामी ब्यक्ति आए तर भित्र अट्ने ठाउँ थिएन ।

आफ्नो सुबिधा र सहजतालाई म भित्रको मानबिय धर्मले जित्यो । उहाँलाई ठाउँ छोडिदिएर म हुटमा गएँ । भाडा तिर्ने पैसा नभएर हुटमा यात्रा गरिरहेका ५५/५६ वर्षका उदयपुर जिल्ला चौदण्डी गाउँपालिका सिम्पानी गाउँका कुमार सुन्चेउली नामका एक ब्यक्ति रहेछन् । चिसापानी आफन्तकोमा पुगेर घर फर्किदै गरेका उनी आर्थिक र पारिवारिक दुबै दु:ख झेल्दै बाँचिरहेका रहेछन् ।

१७ वर्षिया छोरी आफ्नो जीउ नै हलचल गर्न नसक्ने रोगले बिरामी भएको बताए । उहाँलाई मेरो तर्फबाट मैले गर्न सक्ने सहयोगको आश्वासन दिएँ । राङ्भागे गाउँमा नास्ता खान ओर्लिएका चालक प्रकाश राईले आजको दिनसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको छवि एकदमै राम्रो देखीएको बताउनुभयो । 
यात्रु चढाउदै, ओराल्दै, कहिँकहिँ हेर्दै सातो उड्ने बाटो कुदाउँदै गाडीले आफ्नो गन्तव्य/नदि किनारमा ल्याएर सबै यात्रुहरुलाई ओराल्यो । खोटाङ जिल्लालाई वारि नै छाडी पुल तरेर पारि लाग्दै गर्दा यात्राको सुरुदेखि अन्त्यसम्मका सबै दृश्यहरु मानसपटलमा आए ।

हामीले यात्राको क्रममा बाटोमा हिडिरहेका, गाडीमा यात्रा गरिरहेका, ब्यापार व्यावसाय गरिरहेका, रुखमा/भिरपाखामा घाँस काटिरहेका/बोकिरहेका, जङ्गलमा दाउरा चिरिरहेका, खेतबारी खनिरहेका/जोतिरहेका, खोलामा माछा मारिरहेका, गाइबस्तु भेडा बाख्रापाठा चराइरहेका, चौतारीमा बसिरहेका, कचहरी बसिरहेका, ढिकी कुटिरहेका, जाँतो पिधिरहेका ,चिया पिउँदै पिँढीमा बसिरहेका, भकारो सोहोरिरहेका दाजुभाइ दिदिबहिनी युवायुवती वृद्धवृद्धा भेटेजती सबै-सबैलाई गाउँघरको सुख दु:ख/समस्याको बारेमा सोध्न, पार्टीको बारेमा बुझ्न र बुझाउन केहि कसुर बाँकी राखेनौँ ।

“आफुहरु पुराना पार्टीबाट वाक्क दिक्क भएको, अब नयाँले केही गर्छन् कि भन्ने आशा जागेको, अन्तिम आश रास्वपाको रहेको रास्वपाले पनि नगरे अरु कसैले नगर्ने नयाँ पार्टी नयाँ अनुहार नयाँ सोच बिचार भिजन भएको ब्यक्ति खोजेको, एकपटक यो नयाँ पार्टीलाई हेरिन्छ,  घण्टी अब पक्कै बज्छ बज्छ, यो पनि पछि गएर पुरानै पार्टी जस्तो हुने पो हो कि, पार्टी नयाँ भए पनि पुरानै पात्रहरु प्रवेश गरेर बिगार्ने पो हुन् कि, अहिलेका जनप्रतिनिधिहरुले जनभावना अनुसार काम नगरेको” भन्दै उहाँहरुले प्राय उस्तै/साझा प्रतिक्रियाहरु व्यक्त गर्नुभयो ।

ग्रामीण भेगका अधिकाङ्स जनताहरुले घण्टी पार्टी/रास्वपा भन्दा नचिन्ने तर रबि लामिछानेको पार्टी भन्दा चाहिँ चिन्नुभएकोले व्यापक प्रचार प्रसारको खाँचो भएको महसुस गरियो । बाँदर आतङ्क, बसाइँसराइ, बेरोजगारी, बिदेश पलायन, बिकासको सुस्त गति, बजारीकरणको अभाव, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा जनताको पहुँचबिहिनता जस्ता समस्याहरुको रोगले आक्रान्त पारेको खोटाङ जिल्लाले ती रोगहरु निको पार्न सक्ने बैकल्पिक शक्तिको खोजी गरिरहेको छ। बिवाहमा अन्माएको चेलीलाई आँशुले बिदाइ गरिरहेको माइतीलेझैँ धमिलो सुनकोशी नदिले पनि हाम्रो १३ दिने अविस्मरणीय यात्राको समाप्तिलाई धमिलो मन बनाएर बिदाइको हात हल्लाइरहेको आभास भयो । मनमनै जवाफ फर्काउँदै पाइला अगाडी बढाएँ: “अब यात्राको अन्त्य होइन सुरुवात भएको छ” ।

(मुकुन्द कृष्ण थापा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन क्षेत्र समिती खोटाङको निर्वाचित सदस्य हुन् )

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

मोरङमा निर्वाचनकाे सम्पूर्ण तयारी पूरा

  • March 3, 2026

इरानविरुद्ध आक्रमणको असर – जेरुसेलम शहरका सडकहरूमा सन्नाटा

  • March 3, 2026

निर्वाचनमा अनिवार्य सहभागी हुन प्रधानमन्त्री कार्कीको अपिल

  • March 3, 2026

पेट्रोल अभाव हुन सक्ने आशंका, पेट्रोल पम्पहरुमा उपभोक्ताको भिड

  • March 3, 2026

चुनाव हुन्न भन्ने ज्यातिष पक्राउ

  • March 3, 2026

काठमाडौंकाे दुई ठाउमा गरियाे दुई गाडीमा आगजनी

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved