एउटा भारतीय सिनेमाको संवादमा परेको “सीता भारतकी छोरी हुन” भन्ने वाक्य हटाउन मेयर बालेन साहले सिनेनिर्मातालाई अल्टिमेटम दिएछन् !

नेपाली नेताहरुलाई अन्ट्सन्ट बक्दै हिँड्ने स्वतन्त्रता छ ! बालेन शाहको सनक पनि ठोरीलाई राम जन्मभूमी भनेर दावी गरेजस्तै व्यर्थ प्रलाप हो ।
न त्रेतायुग प्रमाणित कुरा हो, न जनकपुर सीताको जन्मभूमि हो भन्ने कुरा इतिहास प्रमाणित तथ्य हो । न रामकथा इतिहास हो न सीता ऐतिहासिक पात्र हुन् ।
मेयर साहेबमा थोरै मात्र पनि इतिहासको चेत हुन्थ्यो भने उठाउनुपर्ने कुरा त बरु सीताको नाम नेपालका विभूतिहरुको सूचीबाट हटाउनु पर्ने कुरा थियो ।
जुनबेलासम्म रामायण कथालाई भारत सरकारले इतिहासको मान्यता दिँदै थियो, त्यतिबेलै नेपालले पनि विभूतिहरुको सूचीमा सीताको नाम चढाएको हो । भारतमा रामकथालाई मिथक कथा मात्रै मानेर इतिहासको पाठ्यक्रमबाट हटाइसकेको छ ।
भारतमा हचुवाको भरमा रामकथालाई इतिहासको पाठ्यक्रमबाट हटाइएको होइन । २० वर्ष लामो पुरातात्विक अनुसन्धानले रामायण महाभारत कथालाई इतिहास प्रमाणित गर्न नसकेपछि भारतले आफ्नो इतिहासको पाठ्यक्रमबाट हटाउने निर्णय गरेको हो ।
इण्डोनेसियादेखि इरानसम्म, श्री लङ्कादेखि चीनसम्म अनेकौ रामका मिथक कथाहरु पाइन्छन् । मिथक कथाहरुमा आआफ्नै दावी छन् । बालेन शाहले जस्तो दावी सबै देशले गर्दै जाने हो एसियाभर युद्ध हुनसक्ने छ ।
वेतुकका कुरातिर लाग्ने होइन मेयर साहेब ! बरु आफ्नै देशको इतिहास सच्याउने र पुनर्लेखन गर्ने अभियान चलाउँदा राम्रो हुनेछ ।










