कुखुराको अण्डाबाट चल्ला निस्किएको दृष्य हेर्नुभएको छ ?
यो एउटा कष्टप्रद प्रक्रिया हो। त्यसबेला अण्डाबाट बाहिर निस्किन चल्लाले धेरै संघर्ष गर्नुपर्छ।
कतिलाई त्यस्ता दृश्यले भावुक बनाउँछ अनि अण्डा फुटाएर चल्लालाई सजिलै बाहिर निकालिदिन साहयता गर्ने मन उत्प्रेरित हुनसक्छ।

तर धेरैलाई यो सत्यता थाह नहुनसक्छ, यदि अण्डाबाट चल्ला निस्किने त्यस कष्ट र संघर्षमय प्रक्रियामा हामीले परिस्थिति सजिलो बनाइदिन हात लगाउँछौं भने चल्ला अण्डाबाट निस्किए पस्चात प्राय मर्छ नै अनि बाँच्यो भने पनि त्यो अति दुर्बल हुन्छ।
बलियो र स्वस्थ हुनको निम्ति अण्डाबाट निस्किने प्रक्रिया
चल्लाको निम्ति कष्टपूर्ण र संघर्षमय हुन प्रकृतिको नियम र परमेश्वरको सिधान्त हो। ठिक त्यसरी नै हाम्रो जीवन पनि कष्ट र संघर्ष बिना बलियो र परिपक्व हुन सक्दैन। हाम्रो जीवनमा आइपर्ने कष्ट र सामना गर्नुपर्ने चुनौतीहरूले हामीलाई आकार दिइरहेको हुन्छ। ति सबैकुरा हुनमा उहाँको भलो उदेश्य छ यसैकारण हामी कष्टमा छटपटाँउदै गर्दा उहाँ निष्ठुर र कठोर बन्नुभएको हुँदैन तर अनुशासित प्रेममा निर्माण गरिरहनु भएको हुन्छ।
यदि परिस्थितिलाई मैले सजिलो बनाइदिए भने यिनीहरु निर्माण हुन सक्दैन भन्नेकुरा उहाँ जान्नुहुन्छ।
यसकारण हामी हाम्रो कष्ट र संघर्षमा पनि सकरात्मक बनौ अनि उहाँमाथि भरोसा राखौं। किनभने उहाँ हामीसँग प्रकृतिको माध्यमबाट बोलिरहनु भएको छ, यो उहाँको सिधान्त र प्रकृतिको नियम हो भनेर..।
बचनको एउटा खण्डले यसो भन्नुहुन्छ, “तर गएर पशुलाई सोध्नुहोस् र तिनीहरूले तपाईंलाई सिकाउनेछन्, अथवा आकाशका चराहरूलाई, अनि उनीहरूले तपाईंलाई बताउनेछन्,
अथवा पृथ्वीसित बोल्नुहोस्, र त्यसले तपाईंलाई सिकाउनेछ, वा समुद्रका माछालाई तपाईंलाई सिकाउन दिनुहोस्। परमेश्वरको आफ्नै हातले यी सबै गर्नुभएको हो भनी यी सबैमध्येबाट कसले जान्दैन र?
जीवितहरू सबैका प्राण, सबै मानिस-जातिका आत्मा परमेश्वरकै हातमा छ।”










