रुपन्देही जिल्ला सैनामैना १० फूलबारीमा बस्ने चौध वर्षिय सिता ज्ञवाली बिरामी भई माताकोमा उपचार गर्न जाँदा माताले कुटपिट् गरी तातो पानि खनाई,खरानी खुवाई, घाँटी च्यापी, सोही स्थानमा निर्ममतपूर्वक हत्या गरिन् । मृतक सीता ज्ञवालीको सम्झनामा अरु सिताहरुलाई यसरी मर्नु नपरोस् भनि कृष्ण कुँवर लेख्छन्:
आशाको त्यान्द्रो थीयो, चूँडिने त होईन? म मर्दिन, म जीवित हुन्छु, मैले पूर्ण आयु पाएर जीवनको पूरा उपभोग् गर्नेछु, हो! म बाँच्छु। हो आमा म बाँच्छु! मलाई केहि हुन्न- किनकी तपाइँले मलाई कष्ट सहेर दश महिना पेटमा बोकेको अल्पआयूमा नै मर्नलाई होर? अहँ तपाईले पेट मुसार्दै- छोरी तिमि पृथिविमा फल्नु, फुल्नु सफल् हुनु है भनेर आशिष दिएकी मैले सुनेकी थिनर? अनि तपाईले मनमनै भन्नुहुन्थियो तिमि सरस्वती-लक्ष्मी, भृकुटि र सीता जस्तै हुनिछेउ, यहुदी हरुलाई बचाउने एस्तर जस्तै हुनिछेउ पृथिवि भरिमा सुन्दरी। तिम्रो सुन्दरताको बयान सबैतिर फैलिने छ। तिम्रो सु-वास्नाको कारण घर-परिवार, छिमेक्, समाज् र देशनै उज्यालो हुनेछ, सुगन्धित् हुनेछ।

हो आमा! तपाईको स्पर्श र मनमनै तपाईले गरेका क़ुरा मैले सुनेकी हूँ। तपाईको इच्छा पूरा गर्नलाई म धर्तीमा आएँ। मैले धर्तीमा पाईला टेक्दा तपाईको खुशीको सीमा थिएन। तपाईको ब्यक्त गर्न नसकिने खुशी मैले खेल्दै गरेको आगन् थीयो। कहिले काहिं तपाईका आँखाले मलाई ठेस् लागेको देखेभनें तपाईको मुटू च्वास्स चस्किन्थियो, मलाई चोट् लाग्दा तपाईलाई प्राण जाला जस्तै हुन्थियो। तपाईको लुंगी र चोली फाटेको भएपनी मेरो झुम्का भएको जामामा तपाईको खुशी लुकेको थीयो। म तपाईको ओठ्भरी मुस्कान् बनेकी छु। आमा! अबत म चौध बर्षकी, अली ठुली भैसकें। तपाईले मेरो बिषयमा देखेका सपना अब छिट्टै पूरा हुनेछन्। म जवान् हुनै लागें, तपाईको मेहनत र तपाईको आशिष पूरा हुने समय आउँदैछ।
उफ् आमा! आज अली टाउको धेरैनै दुःखेको छ। पेट र मुटू फुट्ने जस्तै गरि दुख्दैछ। मलाई के भएको होला?… अहँ !
मलाई केहि हुँदैन किनकी मेरो डक्टर बन्ने सपना छ, मेरी आमाले देखेका इच्छा र सपनाहरु पनि पूरा गर्नुछ। मलाई केहि हुन्न। सात अर्ब मान्छेहरुलाई धान्ने पृथिबिले मलाई धान्दैनर? निरन्तर बग्ने हावाले मलाई स्वास् दिंदैनर?
हिंजो त केहिबेर पानी परेपछि घाम् लागेको थीयो, पारी पाखोमा डाँडा पुरै ढाक्नेगरि इन्द्रेनी लागेर आकाश नै छोएको थीयो। आज त गड्याङगुडुङ गर्दै आकाश गर्जिरहेको छ। ठुलो पानी पर्ला जस्तो छ।
ओहो! असिना सहितको कत्रो मुशलधारे पानी! आमाले आगनमा लगाएको बार्हमासे फुलको बिरुवा फूल्नै लागेको थीयो, असिनाले कच्याक्कुचुक् पार्यो। मनमनै सोंचें आमाको कती ठुलो मेहनत खेर गयो। कती राम्रो फुलिरहेको थीयो। सुगन्ध छर्दैथीयो तर यहाँ चाहेको र मन् परेको सबैकुरा कहाँ पाईने रैछर।आ.. मपनि! ब्यर्थै बरबराई रहेछु।
आमा ! तपाईले डक्टरकोमा लग्नुभयो, उपचार गराउनु त भयो तर अलिकति बिषेक् पनि हुँदैन त! मलाई के भएको होला? किन-किन मेरो मनमा डर लागिरहेको छ, त्रासले छोपेजस्तै!
आज ठीक पाँच महिना भयो, डक्टरको दबाईले पनि कामैं गरेन। तपाईले रीठे झाँक्रीले झारफुक् गरेपछि निको हुन्छ भन्नुभएको होईनर? बीस् को उन्नाईस् पनि भएन त। ति झाँक्रीले मेरो आँखामा पट्टी बाँधेर सात गाग्री चिसो पानी खन्याउँदा झन्डै मरिन। बल्ल तल्ल चिसो सहें। मलाई त लाग्थियो म बांच्दिन त्यति नै बेला मर्छु। जति तन्त्रमन्त्र गरेपनी नहुने के भएको होला।
हुन्छ आमा तपाईले भनेंअनुसार नै गर्नुस् नत, तिनै पल्लागाउँकी माता लाई ल्याउनुस् । म जसरी पनि निको हुनुछ। तपाईको सपना पूरा गर्न मैले मेहनत गर्नुछ। डक्टर भै समाजको सेवा गर्नुछ। माता हातमा घन्टी लिएर आईन्, तेल सकिनै लागेको दियो लिएर आईन् , आफ्नो शक्ति प्रदर्शन गर्न थरथर काम्दै आईन्, ऊनि कालिको रौद्र रूप लिएर आईन्, कलिलो जीवनको अंत्य गर्न मृत्युको शक्ति लिएर आईन्।
होईन आमा! माताको घण्टिको आवाज् होकी, मृत्युको आवाज् हो कुन्नी? कानमा बेस्सरी गुंजयमान् भएको छ। बिरामले धान्न नसकेको मेरो शरिर माथि माताको गरूङगो जिउले थिचेको छ। म बाँच्नलाई मेरो उपचार भएको होईनर आमा? हेर्नुस् न, मेरो ढाडमाथि बसेर कपाल् लुछेको.. दुःखेको कपाल् लाई किन यत्ति बेस्सरी तानेको होला? ऐया..! पोल्यो… कती तातो पानि अनुहारमा खन्याएको? अनुहारमा होईन के माता! मेरो पेट र टाउकोमा हो दुःखेको।
हजुर माता! देखें, तपाईको शक्ति देखें, तर उम्लेको पानी त कृपया नखन्याउनुस् न, सारै पोल्यो। मलाई कती धेरै चलाएको? कती धेरै पिटेको? कती पछारेर दुःख दिएको?
होईन…! मेरो आवाज्…! किन बन्द हुँदैछ?किन ओठ मात्र चलिरहेको? सायद! मलाई असहईय पिंडा भएर होकी? जब सम्म एक मुठ्ठी स्वास् रहन्छ आश त रहने रैछ। यसरि घाँटी ननिमोठे त हुनेथियो नि! सायद म बाँच्ने थिएँ। होईन, अझै आशा छ, म मर्दिन। म डक्टर हुनुछ मैले मेरी आमाको सपना पूरा गर्नुछ। मेरो कमजोर शरिरले म भित्रको रोग र माताको सक्दो बल लाई अझै सामना गर्नेछ,त्यसैले त म प्रतिकारको लागि चल्मलाई रहेछु, अझैपनि ऐया! ऐया! को आवाज् निकाली रहेछु।
मनमनै सोच्छु त्यो बलियो हातले घाँटी नथीचे पनि त म बाँच्ने थिएँ नि! अब उपाए छैन। म सक्दिन, मेरो वरिपरि यत्ति धेरै मान्छेहरु मुक्दर्शक् भएर किन बसेका होलान्? कमसेकम् माताको हात मेरो घांटी बाट हटाईदिएपनि हुन्थियो नि? न मुखले बोल्न सक्छु, नत हातले इशारा गर्न..।
नजिकै माताले बालेको दियोको तेल सकिएछ। बत्ती निभ्नै लाग्यो।
होईन के भएकोहोला मलाई! मेरो शरिर दुख्नै छोड्यो! भर्खर् सम्म त बेस्सरी पिंडा थीयो, अहिले त दुखाई नै हरायो। मेरो घाँटी जति थिचेपनि नदुख्ने, शरिरले जति चोट सहेपनी नदुख्ने मेरो टाउको पेट सबै निको भएछ क्यारे!…. सायद म अनन्त-अनन्त सम्मलाई निको भएँ…।
आमा! छेउमा कतींजेल् बसेर हेर्नुहुन्छ? नहेर्नुस् न, म संधैको लागि निको भएँ, म आराम गर्छु, जानुस् तपाई पनि आराम् गर्नुस्, मेरो लागि कत्ति दुःख गर्नुहुन्छ? हो आमा! साँच्चै म निको भएँ, अब म तपाई लाई कहिले पनि दुःख दिन्न। अब मलाई कहिलै पिंडा हुन्न होला। दुखाई कहिलै हुन्नहोला। निको हुने आशामा मृत्युको निद्रामा परेकी सीतालाई नजीकै बसेकि आमाले बरर आँशु झार्दै हेरिरहिन्।
सीता कोख भित्र रहंदा देखेका आमाका सपना अधूरा भए। उनले सीता र भृकुटि,लक्ष्मी र सरस्वती, एस्तर जस्ती छोरीलाई संधैको लागि गुमाईन्। उनको आगनको सुगन्ध छर्ने कलिलो फूल् निमोठियो। उनको काख रीतियो, उनको घरको बत्ती निभ्यो। छिमेकीहरुको खुशी गुम्यो, राष्ट्रको गहना खोशियो।
अन्तमा : धामि-झाँक्री, माताले गरिबि र अनुहारको आधारमा बोक्सी छुट्याउँछन्। धनी घरानाको लाई कस्ले आरोप लगाएको छ? गरीबमात्र सबै थोक हुनुपर्ने? बिरामी भए, धामी माता, पास्टर, पुजाहारी कसैलाई बिश्वाश नगरौं, डक्टरकोमा उपचार गराउँ।आफ्नो छोरी-चेलीलाई बचाऊ ।
लेखक कृष्ण कुँवर suchanachautari.comका लागि प्रवास सम्वाददाताका रुपमा दुबईमा रहेर कलम चलाउनुहुन्छ।










