स्कुल पढ्दाको एकदमै चल्तापुर्जा तर एक अक्षर पनि नपढ्ने धूर्त साथी सुमनसँग होनहार, कक्षाको प्रथम र युएसएबाट एमडी गरेर आएको डा. सुरेशको भेट भयो । सुरेशले आफूलाई सुमनभन्दा निकै अग्लो अनुभव गरे । उनी नजिकै राखेको कार चढेर सुटुक्क भाग्ने दाउ गर्दै थिए ।
तर चतुरे सुमनलाई छक्याउन के सक्थे र सुरेशले, च्याप्पै पाखुरा समातेर भनिहाल्यो, “ए ! ए ! पासा ! कता भाग्न लागेको ? त्यसरी हामीलाई नचिने जस्तो गर्न पाइन्छ ? आज त जे काम भए पनि मसँग एक कप चिया नखाई जान कहाँ पाइन्छ र ?”


डा.सुरेशले नाइँनास्ति गर्ने बहाना भेट्टाउनै सकेन । नजिकैको पसलमा दुई जना चिया खना बसे ।
“अहिले कुन अस्पतालमा जागिर छ नि, पासा ? डाक्टर भएर आएपछि त हामीलाई चिन्नै छोड्यो, पासाले ।” सुमनले अझै सुरेशलाई व्यङ्ग्य गर्न छोडेनन् ।
“ह्या, कति जिस्काइरा’को भन्या ! आफूले त्यत्रो दाम खर्चेर अमेरिका गएर पढेर स्वदेशमै सेवा गर्छु भनेर आएको । एउटा गतिलो अस्पतालमा काम पाउन सकिएन । आफै सेवा गर्छु भनेर अस्पताल खोलेको चरो मुसो नआएर टेन्सन भइरा’छ आफूलाई ।” एकै सासमा सुरेशले व्यथा पोखे ।
“का, अथे जुला धैगु का ! हामीलाई नचिने झैं गर्छ । यस्तो आइडिया त हामीलाई सोध्नु नि । तिमीले चिन्तै नगर । म भनिहाल्छु नि बुद्धि ।
अस्पताल खोलेर मात्रै हुन्छ ? सबैले थाहा पाउनु परेन ? ठाउँ ठाउँमा स्वास्थ्य शिविर गर । यसो जाँचेको जस्तो गर । बीस तीस हजारको सिटामोल, पखालाको ओखती, जीवनजल बाँड । अनि त्यहाँ आएका बिरामीहरूलाई थप जाच्नुपर्छ । हाम्रो अस्पतालमा आऊ भनेर डाक । अनि पो चल्छ त अस्पताल !” सुमनले सुरेशलाई बोल्ने मौका नै नदिई भने ।
“हँ ……… !” सुमनको कुराले सुरेश तीन छक्क भए।










