काठमाडौं । कैलालीको त्रिनगर भन्सार नाका हुँदै स्वदेश फर्कने नेपालीमा धमाधम कोरोनाभाइरस संक्रमण पुष्टि हुन थालेको छ । साउन १ देखि २१ गतेसम्ममा भारतबाट आएका नेपालीमा गरिएको परीक्षणका क्रममा एन्टिजेन परीक्षण गर्दा ८७ जनामा संक्रमण पुष्टि भएको हो ।
भारतबाट घर फर्केका २ हजार १३२ जनामा एन्टिजेन परीक्षण गर्दा ८७ जनामा संक्रमण पुष्टि भएको त्रिनगर हेल्थडेस्कका ल्याब टेक्निसियन जय ढुंगानाले रातोपाटीलाई जानकारी दिए । १ हजार ६१९ पुरुषमा परीक्षण गर्दा ६९ र ५ सय १३ महिलामा परीक्षण गर्दा १८ मा संक्रमण पुष्टि भएको उनले बताए ।

यो अवधिमा १ जना संक्रमितको मृत्यु भएको छ । कोरोनाको ग्राफ बढे पनि जोखिम भने नभएको श्रेष्ठले बताए । यसैबीच कोरोना भाइरसको संक्रमणदर उकालो लागेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारले जोखिम न्यूनीकरणका लागि तयारी थालेको छ । जोखिम न्यूनीकरणका लागि जनस्वास्थ्यका मापदण्ड पुर्णरुपमा पालना गर्न सचेतनाका अभियान संचालन गरेको प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दिपक लामिछानेले जानकारी दिए ।










