काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट अलग भएर नेपाल समाजवादी पार्टी नेपाल गठन गरेका डा. बाबुराम भट्टराई सत्ता गठबन्धनमा सहभागी हुन असफल भएका छन् । यद्यपि उनले गठबन्धनको प्रयासलाई भने छाडेका छैनन् ।
जारी नेपाल समाजवादी पार्टी नेपालको बैठकमा समेत उनले अगामी चुनावका लागि चुनावी गठबन्धनका लागि काँग्रेस, माओवादी केन्द्रलगायतका दलसँग कुराकानी भइरहेको बताएका छन् । काँग्रेस, माओवादी केन्द्रलगायतका दल सहभागी भएको गठबन्धनसँग सहमति नभए एमालेलगायत अन्य दलहरूसँग गठबन्धन गर्ने उनले योजना बनाएका छन् । चुनावी गठबन्धन बनाएर नै जाने नेता भट्टराईको जोड थियो । यद्यपि चुनावमा गठबन्धन बनाएर जाने कि एक्लै चुनाव लड्ने विषयमा पार्टीले औपचारिक निर्णय भने गरिसकेको छैन । जारी बैठकले त्यसको बारेमा निर्णय गर्ने बताइएको छ ।

बाबुराम भट्टराईसँग सुरुमा कुनै पार्टी नरहेको कारणले पनि गठबन्धनमा ल्याउन नेताहरूले रुचि नदेखाएको जसपाका एक कार्यकारिणी सदस्यले दाबी गरे । भट्टराईले समाजवादी केन्द्रमार्फत सत्ता गठबन्धनसँग नजिकिन खोजेका थिए तर प्रचण्डले समाजवादी केन्द्र बनाउनमा चासो लिएका छैनन् । प्रचण्ड वाम गठबन्धन बनाउनुपर्ने पक्षमा रहेका छन् भने नेता भट्टराई वाम गठबन्धन बनाउने पक्षमा देखाएका छैनन् । नेपाल समाजवादी पार्टीका एक शीर्ष नेताले भने, ‘पहिलो प्राथमिकता सत्ता गठबन्धन र समाजवादी केन्द्र नै रहेको छ, त्यसपछि मात्र एमाले तथा अन्य दल रहनेछन् ।’
नेता भट्टराईले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गठबन्धनलगायतका विषयमा पटक पटक छलफल गरिसकेका छन् । अन्तिममा नभए एमालेसँग गठबन्धन गरेर जाने सोचाई अध्यक्ष भट्टराईको रहेको छ । राताेपाटीबाट साभार










