काठमाडौं । संक्रमण बढ्दै जाँदा बुस्टर डोज खोप लिन विज्ञहरूले आग्रह गरेका छन् ।
पछिल्लो समय अेमिक्रोन भेरियन्टका बीए–२ र बीए–४ र बीए–५ सब भेरियन्टका कारण संक्रमण बढिरहेका बेला बुस्टर डोज खोप अनिवार्य लगाउन विज्ञहरूको आग्रह छ ।

“कोभिड–१९ विरुद्धको खोपले संक्रमण नै हुन नदिने भन्ने होइन, तर सिकिस्त हुने तथा अस्पताल भर्ना हुने सम्भावना न्यूनीकरण गर्छ, यसकारण पनि बुस्टर डोज खोप लिन म सबैलाई अनुरोध गर्छु” वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने ।
अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले फाइजरको पछिल्लो संस्करण खोपले ओक्रिोनका सब भेरियन्टहरुविरुद्ध पनि काम गर्ने जनाएको छ । नेपालमा अहिले कोभिशिल्ड, जोन्सन एन्ड जोन्सन, फाइजर र मोर्डना खोप बुस्टर डोजको रूपमा दिइँदै छ ।
असार २६ गतेसम्म ६६ लाख ५७ हजार ३५९ जनाले बुस्टर डोज खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको तथ्यांक छ । मन्त्रालयले सबै नजिकैको खोप केन्द्रमा गई बुस्टर डोज खोप लगाउन बारम्बार अनुरोध गर्दै आएको छ ।










