काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले तराईलाई मरुभूमि हुनबाट जोगाउन चुरे क्षेत्रको संरक्षण गर्नुपर्ने बताए । शनिबार जनकपुरमा कान्तिपुर मिडिया ग्रुप र मधेश प्रदेश सरकार, गृह तथा सञ्चार मन्त्रालय तथा प्रदेश सभा सचिवालयको सहकार्यमा आयोजित ‘मधेश मन्थन’ कार्यक्रममा विद्वत प्रवचन दिँदै पूर्वराष्ट्रपति यादवले चुरे क्षेत्र जैविक विविधतायुक्त क्षेत्र भएको उल्लेख गर्दै त्यसलाई जोगाउनुपर्ने बताएका हुन् ।
जैविक विविधता र पानीको भकारीलाई हटाएर मरुभूमि बनाउन नहुने उनले बताए । पछिल्लो समयमा चुरेको दोहन भइरहेकाले मधेशमा पानीको मुहान सुक्न थालेको, कृषियोग्य जमिन विस्तारै मरुभूमिमा परिणत हुँदै गइरहेको उनको भनाई छ ।

‘साँच्चै मधेशलाई जोगाउने हो भने, चुरे र महाभारतको दोहन तत्कालै रोक्नुपर्छ,’ उनले भने, ‘चुरेको दोहन नरेकिए आउँदा केही वर्षमा चुरु मरभूमिमा परिणत हुनेछ ।’ मधेश प्रदेशमा धेरै सम्भावना रहेको उल्लेख गर्दै यादवले तिनलाई अधिकतम सदुपयोग गरी उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नुपर्ने सुझाव दिए ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्च अदालतको फैसलाअनुसार सरकारले वैकल्पिक उपाय अपनाउनुपर्ने पनि उनले बताए । संघीय सरकार पूरा दलबलका साथ निजगढमै गएर त्यहीँ विमानस्थल बनाइछाड्छौँ भन्नु दुःखद भएको उनको भनाइ छ ।
पछिल्ला ३० वर्षमा चुरे दोहन अत्यधिक हुँदै गएको र त्यसले मरुभूमि बन्ने खतरा रहेको उनले बताए । चुरे, महाभारत र भावर क्षेत्रको संरक्षणमा सबै पक्षको सहभागितामा पनि उनले जोड दिए ।
त्यस्तै, संविधानमाथि पटक—पटक हुँदा आफ्नो मन दुख्ने बताएका छन् । उनले सबै नेपालीको साझा दस्तावेजका रूपमा रहेको संविधान जोगाउनुपर्ने बताए । संविधान सबै नेपालीलाई जोड्ने साझा दस्तावेजका रूपमा रहेको पनि पूर्वराष्ट्रपति यादवले बताए ।
लामो यात्रा पार गरेर आए पनि पटक—पटक लोकतन्त्र र संविधानप्रति आक्रमण भएको पूर्वराष्ट्रपति यादवको भनाई छ । संविधानमाथि आक्रमण गर्दै प्रतिनिधिसभा विघटन भएको पनि उनको टिप्पणी थियो । ‘२०७२ मा संविधान जारी भएपछि पनि पटक(पटक यसमा आक्रमण भएको छ । २÷२ पटक प्रतिनिधिसभा विघटन भयो । यसले बेला—बेला मन दुख्ने गर्छ’ उनले भने । तर राजनीतिक पार्टीहरुले मिलेर समस्याको समाधानहरु निकाल्नु भने आफैंमा आफैंमा प्रशंसनीय रहेको उनको भनाई छ ।
संविधान जारी हुँदा केही सन्देह भए पनि पछि राजनीतिक दलहरूले त्यही संविधानअनुरूप राजनीति अगाडि बढाएकोमा भने आफू सन्तुष्ट भएको उनले बताए । ‘मैले संविधान दिँदा मधेशमा गोली चलिरहेको थियो । तर मैले संविधान जारी गरिरहँदा त्यस्तो होला भन्ने मैले सोचेको थिइँन । मेरा केही सन्देहहरु भने थिए । त्यसैले मैले सबै राजनीतिक पार्टीहरुलाई बोलाएर कुरा पनि गरेको थिएँ । संविधान जारी गरेपछि जुन हिसाबले पार्टीहरुले मिलेर चुनाव गराए त्यसपछि भने म सन्तुष्ट भएँ’, उनले भने ।
जनकपुर सुन्दर र सांस्कृतिक तथा धार्मिक सहर रहेको उनले बताए । ‘यो जनकपुरबाट मैले राजनीति सुरु गरें । जनकपुर साह्रै सुन्दर सांस्कृति र धार्मिक सहर हो । यसको इतिहास सम्झिँदा मलाई न्यास्रो लाग्छ । किनभने त्यसबेलमा तराई र पहाडमा स्थापित धेरै विद्वानहरुको उदय जनकपुरमै भएको थियो । अहिले जनकपुरमा के भइरहेको छ मैले बुझेको छैन’, उनले भने ।










