काठमाडौँ । काठमाडौँ उपत्यकाका १२ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन, थानकोट र नैकपमा हैजा देखिएको हो ।
उपत्यकामा हैजा फैलने प्रमुख कारण खानेपानी भएको जनस्वास्थ्यविद्हरू बताउँछन् । काठमाडौँ उपत्यकामा जार र बोतलको पानी शत प्रतिशत प्रशोधित शुद्ध ठानेर ढुक्कसँग पिउने गरिन्छ । तर एकाध कम्पनीद्वारा उत्पादन गरिएका जार र बोतलका पानी मात्र पिउन योग्य छन् ।

तीबाहेक धारामा आउने, ट्याङ्करमा ल्याइने, सिल्बन्दी गरेर बिक्री वितरणका लागि ल्याइका जार र बोतलका पानी ढुक्क भएर पिउने अवस्था नरहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । यद्यपि उपत्यकावासीले प्रशोधित र शुद्ध ठानेर पिउने पानी ८२ प्रतिशत प्रदूषित तथा हानिकारक रहेको अध्यानहरूले देखाएका छन् ।
सरकारले जनताको स्वास्थ्यसँग प्रत्यक्षसम्बन्ध राख्ने पिउने पानीको नियमित गुणस्तर परीक्षण तथा अनुगमन नगरेकाले ठाउँठाउँमा हैजाजन्य सङ्क्रामक रोग फैलिएको उपभोक्ताहरू बताउँछन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले २०२० गरेको एक अध्ययनले बागमती नदी छेउछाउका धारा, इनार, कलबाट निकालिएका पानीको ५२ वटा नमुनामा ८५ प्रतिशत स्थानमा कोलिफर्मको किटाणु भेटिएको थियो । यस्तै ५० वटा जारको पानीका नमुना सङ्कलन गरी परीक्षण गर्दा ७६ प्रतिशत इकोलाई, ९२ प्रतिशतमा कोलिफर्म भेटिएको थियो ।










