नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएका केसमध्ये भारत हुँदै नेपाल प्रवेश गर्नेमा पनि देखिन थालेको छ । नेपालभित्र पुष्टि भएका केसभन्दा सीमानाकामा देखिएका केसले केही दिन यता सङ्क्रमितको सङ्ख्या बढेको जस्तो देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दास बताउँछन् ।
आइतबार १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, गत २२ गते १३ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने २३ गते २१ जना सङ्क्रमित भएका थिए । यस्तै, क्रमशः २३ गते २१ जना, २४ गते २८ जना, २५ गते १६ जना, २६ गते २२, २७ गते १७ र जेठ २८ गते शनिबार १७ जनामा सङ्क्रमण भएको थियो ।

सङ्क्रमितको सङ्ख्या गएको केही दिनयता २/४ वटा केसले कहिले बढ्ने/घट्ने भइरहेको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । सानो सङ्ख्या तलमाथि हुँदा तत्काल सङ्क्रमितको सङ्ख्या बढेको भन्न मिल्ने अवस्था नरहेको उनी बताउँछन् ।
भारतमा कोरोनाभाइरस सङ्क्रमण दर बढेसँगै नेपालमा पनि सङ्क्रमणको उच्च जोखिम रहने गर्छ । गएको २४ घण्टाको आँकडा केलाउँदा पनि छिमेकी राष्ट्र भारतमा तीव्र गतिमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ भने दैनिक आठ हजार जनामा सङ्क्रमण पुष्टि भएको छ । सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्रमा देखिएको छ जहाँ २९२२ मा सङ्क्रमण पुष्टि भएको छ ।
अघिल्ला कोराना महामारीका लहरमा भारतमा सङ्क्रमण दर उच्चविन्दूमा पुगेको तीन सातापछि नेपालमा पनि तीव्र रूपमा सङ्क्रमितको दर बढ्दै गएको देखाएको ईडीसीडीका निर्देशक डा. दास बताउँछन् । त्यसैले भारतमा कोरोना सङ्क्रमण दर बढी रहँदा नेपालमा पनि सङ्क्रमणको उच्च जोखिम कायम रहेको उनको भनाइ छ ।










