काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले काठमाडौं महानगर क्षेत्रमा विद्युतका तार डेढ वर्षभित्र ‘अन्डरग्राउन्ड’ गरिने बताएका छन् ।
प्रमुख शाहले आइतबार महानगर कार्यपालिकाको दोस्रो बैठकमा सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको बताए ।

हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसबिच सहकार्यको समीक्षा गरिने उनले बताए ।
सडक, खानेपानी, विद्युत् प्राधिकरण लगायतका निकायले गरेका कामको अनुगमन महानगरले गर्ने र एकीकृत योजनाका अनुसार ती सबै निकायले समन्वयात्मक ढङ्गले काम गर्ने उनले बताए ।










