खोटाङ । खोटाङको ६ पालिकामा बुस्टर डोज खोप सञ्चालन हुने भएको छ। दुई नगरपालिका र चार गाउँपालिकामा फरक फरक समयमा बुस्टर डोज खोप कार्यक्रम सञ्चान हुने भएको हो।
जिल्ला स्तरीय कोभिड–१९ खोप समन्वय समितिको सोमबार बसेको बैठकले यहि जेठ २३, २४ र २५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकामा मोडर्नाको बुस्टर डोज खोप सञ्चालन गर्ने निर्णय गरेको छ।

बैठकले १२ वर्षदेखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई पहिलो खोपको मात्रा छुट भएकालाई पहिलो, दोश्रो मात्रा छुट भएकालाई दोश्रो र दोश्रो मात्रा पूरा भएकालाई मोडर्नाको बुस्टर डोज खोप प्रदान गरिने निर्णय गरेको स्वास्थ्य कार्यालय दिक्तेलका ल्याब टेक्निसियन राजु राउतले जानकारी दिए।
यसैगरी १८ वर्ष उमेर माथिका नागरिकलाई कोभिशिल्ड र भेरोसेल खोपको बुस्टर डोज दिइने जनाईएको छ। यहि जेठ २९ र ३० गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका र साकेला गाउँपालिकामा बुस्टर डोज खोप सञ्चालन हुने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलले बताए।
सबै पालिकामा कोभिशिल्ड र भेरोसेल खोपको पहिलो मात्रा छुट भएकालाई पहिलो, दोश्रो मात्रा छुट भएकालाई दोश्रो र दोश्रो मात्रा पूरा भएकालाई बुस्टर डोज खोप प्रदान गरिनेछ। बाँकी गाउँपालिकाहरुमा खोप उपलब्धताका आधारमा क्रमशः खोप प्रदान गरिनेछ।File photo










