खोटाङ । खोटाङको दिक्तेलमा सञ्चालन हुने दिक्तेल मेयर कप तेश्रो केएफए क्लव स्तरिय फुटबल प्रतियोगीताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक खोटाङ फुटबल एकेडेमी (केएफए)ले आगामी ११ चैतदेखि १८ चैतसम्म सञ्चालन हुने प्रतियोगीताको खेल तालिका मंगलबार सार्वजनिक गरेको हो ।
‘स्थानीय खेलाडी र क्लवको पहिचान, खोटाङ एकेडेमीको अभियान’ भन्ने नारासहित दिक्तेलको माटिकोरे खेलमैदानमा सञ्चालन गरिने प्रतियोगीता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गर्ने तय गरिएको छ ।

फुटबल प्रतियोगीता उद्घाटनकै अवशरमा दिक्तेलको माटिकोरेमा दिक्तेल रंगशाला शिलान्यास गर्ने कार्यक्रम रहेको एकेडेमीले जनाएको छ । स्थानीय फुटबल टिम र खेलाडीको प्रवद्र्धनका लागि आयोजना गरिएको प्रतियोगीतामा जिल्लाका १६ टिमको प्रतिष्पर्धा हुने प्रतियोगीताका इभेन्ट मेनेजर प्रशिक्षक रोशेस श्रेष्ठले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मूख्य प्रायोजक रहेको प्रतियोगीताका विजेताले १ लाख २५ हजार, उपविजेताले ६५ हजार र सेमीफाइनलिष्टले २०/२० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
उत्कृष्ट गोल रक्षक, डिफेण्डर, मिड फिल्डर, गोलकर्ता र कोचलाई जनही ५ हजार नगद, ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाण–पत्र तथा म्यानअफ द म्याचलाई नगद एक हजारका साथमा मेडल प्रदान गरिने आयोजकले जनाएको छ । nepalwide.com










