काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार उक्त अवधिमा ३ हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७५६ जनाको एन्टीजेन परीक्षण गर्दा १२० जना गरी जम्मा १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

यसैगरी उक्त अवधिमा ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल ५ हजार ७५४ जना होमआईसोेलेशनमा रहेका छन् भने १३० जना संस्थागत आईसोेलेशनमा रहेका छन् । नेपालमा हाल ५ हजार ८७५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार हाल कोरोनाका बिरामीमध्ये ४२ जना आईसीयू र पाँच जना भेन्टिलेटरमा रहेका छन् । नेपालमा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुगेको छ । मुलुकमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ३२८ पुगेको छ ।










