करिब ५४० रोपनी क्षेत्रफलमा फैलिएको कारागार चरणबद्ध रूपमा सञ्चालनमा आउने छ । सीसी क्यामेरा, तारबार, कर्मचारी आवासगृह, सुरक्षा, भेटघाट कक्ष, कानुनी परामर्श कक्ष आदि निर्माण हुँदैछ । उनका अनुसार पहिलो चरणमा सुन्धारास्थित जगन्नाथ देवल र डिल्लीबजार सदरखोर कारागारबाट एक हजार कैदीबन्दीलाई नुवाकोट ल्याउने तयारी छ तर पूर्ण सञ्चालनमा आउन कम्तीमा तीन महिना लाग्ने अनुमान गरिएको छ ।

“माघ मसान्तभित्रै नवनिर्मित कारागार सञ्चालन ल्याउने योजना थियो तर कोरोना सङ्क्रमण महामारीका कारण एक महिना ढिलो भएको छ,” गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्थापन विभागका प्रमुख जनकराज दाहालले भने ।
सहरी विकास विभाग, कारागार विभाग र सुरक्षा निकायबीच सुरक्षा व्यवस्था तथा संरचना निर्माणसँग सम्बन्धित केही विषयमा समन्वय हुन नसकेकाले थप सुधारका काम पनि जारी रहेको विभागले जनाएको छ । करिब सात हजार कैदीबन्दी राख्ने क्षमता रहेको सो कारागार निर्माण कार्य छ महिनादेखि रफ्तारमा भइरहेको छ ।
नवनिर्मित कारागार कालकोठरी जस्तो नभई सीप विकास केन्द्र, हस्तकला उत्पादन कारखाना र असल नागरिक बनेर पुनः समाजमा फर्किने वातावरणमैत्री ढङ्गले निर्माण गरिएको उनले जानकारी दिए।
अस्पताल, पुस्तकालय, व्यायामशाला, योगशाला, ध्यान केन्द्र, सीप तालिम केन्द्र र हस्तकला बिक्री वितरणलगायत विभिन्न कक्षसहितका सुविधा समेटिएका छन् । त्यस्तै अपाङ्ग तथा ज्येष्ठ नागरिकमैत्री, अपराधको प्रकृतिअनुसार छुट्टाछुट्टै भवन र प्रजनन अधिकारबाट वञ्चित दम्पती कैदीबन्दीको अधिकारलाई समेत सुनिश्चित गरी आवास कक्ष निर्माण गरिएको छ । राजधानी दैनिक










