खोटाङ। जिल्ला कारागार खोटाङमा सबैभन्दा धेरै जबरजस्ती करणी मुद्दाका कैदीबन्दी रहेका छन्। कारागारमा रहेका कुल कैदीबन्दी मध्येमा जबरजस्ती करणी मुद्दाका कैदीबन्दी धेरै रहेको कारागार प्रशासनले जनाएको छ।
हाल आश्रित नाबालक सहित १४० जना कैदीबन्दी रहेको कारागारमा ५० जना जबरस्ती करणी मुद्दाका र ५ जना जबरजस्ती करणी उधोग मुद्दाका कैदीवन्दी रहेको कारागार प्रमुख सोमप्रसाद आचार्यले बताउनुभयो। जबरजस्ती करणी मुद्दाका कैदीबन्दी धेरै देखिनुले जिल्लामा जबरजस्ती बलात्कारका घट्ना बढी भएको पाईएको छ।

कारागारमा कर्तब्य ज्यान मुद्दाका ४३ जना, ज्यान मार्ने उधोग मुद्दाका १२ जना, लागुऔषध मुद्दाका ४ जना, वन सम्बन्धी मुद्दाका २ जना, चोरी मुद्दाका ५ जना, हातहतियार खरखजना मुद्दाका ३ जना, बहुविवाह मुद्दाका २ जना, डाँका मुद्दाका २ जना तथा सवारी ज्यान, आगजनी, ठगी, मानव बेचबिखन मुद्दाका १/१ जना पुरुष कैदीबन्दी रहेका छन्।
कर्तब्य ज्यान मुद्दाका चार जना महिला, लागुऔषध मुद्दाका दुई जना महिला र चेक अनादर मुद्दाका एक जना महिला कैदीबन्दी छन्। ६६ जना पुरुष र ३३ जना महिला गरी ९९ जना अटाउने क्षमता भएको जिल्ला कारागारमा कैदी पुरुष १०५ जना, थुनुवा पुरुष २७ जना, कैदी महिला ६ जना र थुनुवा महिला १ जना छन्। उनीहरु १३९ जनाले विभिन्न प्रकृतिका मुद्दामा कैद भुक्तान गरिरहेका छन्।
यस्तै, कोरोना भाईरसलाई मध्यनजर गर्दै कारागारभित्र ४० जना कैदीबन्दी अटाउने संरचना निर्माण गरिएको छ। कारागार ब्लगमा रहेको भान्साघरलाई अन्यत्र स्थानान्तरण गरेर नयाँ संरचना निर्माण गरिएको कारागार प्रमुख आचार्यले बताउनुभयो।
कैदीबन्दी र आफन्तविच भेटघाट बन्द
कोरोना भाइरस (कोभिड–१९) तेश्रो लहरको संक्रमण फैलिन नदिन अत्यावश्यक बाहेक कैदीबन्दी र आफन्तविचको भेटघाटलाई बन्द गरिएको छ। कारागार व्यवस्थापन विभागको माघ ३ गतेको पत्र अनुसार भेटघाट बन्द गरिएको हो।
अत्यावश्यक भेटघाट दिनुपर्ने अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने कारागार व्यवस्थापन विभागको पत्रमा उल्लेख छ। कैदीबन्दीलाई आफन्तले केही खानेकुरा ल्याईदिएको खण्डमा खानेकुरा ल्याउने स्वयंम्लाई खाना दिएर सम्बन्धीत कैदीबन्दीलाई खाना लगिदिने व्यवस्था मिलाईएको कारागार प्रमुख आचार्यको भनाई छ। आफन्त र कैदीबन्दीबिच भेटघाट निषेधित गरिएपछि कैदीवन्दीहरु दुरी कायम गरेर बसिरहेका छन्। samayojankhabar.com










