अमिर रामदाम- कोभिड-१९ बाट थिलोथिलो भएको मेरो देश बिस्तारै निर्मूल हुँदै दैनिकी सहज हुने क्रममा थियो। तर गत वर्ष पुष ५ गते भएको राजनीतिक घटनाक्रमले मुलुकमा अन्तरसंघर्षको शुरूवात भयो । देशमा राजनीतिक संघर्ष चलिरहेको थियो, सरकार जोड घटाउमा व्यस्त थियो । तर कोरोनाको कहरले पूर्ण बिराम भने लिन सकेन ।
पहिलो वर्ष भन्दा अहिले व्यापक रूपमा संक्रमण फैलिरहेको छ। कोरोना भाइरसको दोस्रो भेरीयन्टका कारण सबै नेपालीहरु चिन्तित बनेका छन्। आम मानिसहरूको पहिला जस्तो अहिले दैनिकी सहज भने छैन्। दिनभरि काम गरेर साँझ एक छाक भएपनि मिठो नमिठो खानेलाई झन् बज्रपात परिरहेको छ । एक त भोक पेटको कारण समस्या भइरहेको छ भने अर्को संक्रमणका कारण उचित उपचार नपाउँदा समस्या उत्पन्न भइरहेको छ । अहिले दैनिकजसो तीन सय मानिसहरु कोरोनाको सिकार बनिरहेका छन् । मुलुकमा संक्रमण बढिरहेको थियो तर पनि राजनीति गर्ने माननीयज्यूहरुलाई सरकार परिवर्तन गर्ने कुराले रातको निन्द्रा र दिनको भोक हरण गरिरहेको थियो ।

बुटवलमा मेरो दाई निर्मल सुनार युथ क्लबहरुमा काम गर्नुहुन्थ्यो । फोनबाट मात्र भएपनी राम्रै कुराकानी हुन्थ्यो । वैशाख २६ गतेदेखि ठूली आमालाई रुघा, मर्की, ज्वरो र जिउ दुख्ने समस्याले व्याप्त बनाइरहेको खबर दाईले सुनाउनु भयो । वैशाख २८ गतेबाट श्वासप्रश्वासमा समेत समस्या भएपछी नेश्नलपाथ अस्पतालमा कोरोनाको परिक्षण गरियो । वैशाख ३० गते मात्र कोरोना संक्रमण भएको पोजेटिभ रिपोर्ट दियो । ठूली आमाको अवस्था निकै दर्दनाक भैसकेको थियो । लुम्बिनी प्रादेशिक अस्पतालमा आमालाइ भर्ना गरियो । श्वासप्रश्वासमा पनि समस्या भएकाले अक्सिजन आवश्यक परिरहेको थियो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मात्र नभई मुलुकभर सबै अस्पतालहरुमा अक्सिजनको अभाव उस्तै थियो ।
अक्सिजनका लागि निर्मल दाईले सोही दिनको रातभरिमा पाँचवटा भन्दा बढी हस्पिटलहरूमा भौतारिनुभयो । मिनी हस्पिटल, सिटी हस्पिटल, गौतम बुद्ध हस्पिटल, हस्पिटल पार्ली, सिद्धबाबा हस्पिटल आदि सबै अस्पतालमा सोधीखोजी गर्दा पनि अक्सिजन पाइएन । चितवन लैजान खोज्दा पनि एम्बुलेन्समा अक्सिजन थिएन ।
रातभरी बिरामी आमालाई टाढैबाट एकोहोरिएर हेर्नुबाहेक एउटा जवान छोराले केही गर्न सकेन । ३१ गते ठूलीआमाले प्राण त्याग्नुभयो । छोराले दिन रात नभनिकन भौँतारिँदा पनि आमालाई बचाउन सकेन । तर मृत्यु भैसकेपछी पनि दागवती दिन पाएन, छुन पाएन, आमालाई अन्तिम सासमा नजिकबाट समेत हेर्न पाएन ।
सरकार राजनीतिक खेलहरु मस्त छ तर नेपाली जनताहरू अस्पतालका शैयाहरूमा छटपटिएर बसिरहेका छन्। अक्सिजन अभावका कारण मर्नुपरेको छ । त्यसैले कोरोनालाई कसैले पनि खेलाँची नगर्नुहोला। सुरक्षित रहनुहोला र घरमै बस्नुहोला।
पत्रकार सुस्मिता सुनारले दिनुभएको विवरणमा आधारित ।










