काठमाडौं। सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरेपछि राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम हुने भएका छन् ।
सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान १० बजे मतदाता नामावली प्रकाशन गरेको थियो । बिहान ११ बजे देखि अपराह्न ४ बजेसम्म दाबी विरोध र नाम सच्याउन निवेदन आह्वान गरिएकोमा कुनै निवेदन परेन । राष्ट्रिय सभा निर्वाचनका लागि स्थापना गरिएको सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार उम्मेदवारी दर्ता हुँदैछ ।

निर्वाचनमा प्रदेश १ मा राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि ३६४ जना मतदाता, प्रदेश २ का ३७२, बागमती प्रदेशका ३४६, गण्डकी प्रदेशका २२९, लुम्बिनी प्रदेशका २९६, कर्णाली प्रदेशका १९१ र सुदूरपश्चिमका २२७ जना मतदाताले मतदान गर्ने छ । गोरखापत्र दैनिक










