जेष्ठ १, काठमाण्डाै। ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइड बडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलण्डर नेपाल ल्याएको हो । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपालमा अक्सिजन सिलिण्डरको अभाव भएको सुनेदेखि नै आफूहरुको मन पोल्न थालेको र सबैको सहकार्यमा सिलिन्डर जुटाएर नेपाल पठाइएको बताउनुभयो ।

हामी सँगको कुराकानीमा पराजुलीले भन्नुभयो, ‘देशमा समस्या पर्दा हामी चुप लागेर बस्ने कुरा भएन, ओमानमा रहेको नेपाली ‘सोसल क्बल’ र दूतावासको पहलमा खाडीमा काम गर्ने नेपालीहरुले सहयोग जुटाउनुभयो र ४/५ दिनकै पहलमा हामीले सिलिन्डर नेपाल पठाउन सफल भयौँ ।’ राजदूत पराजुलीले खाडीमा पसिना बगाएर कमाएको पैसाले देशको लागि सहयोग गर्ने सबै सहयोगीलाई धन्यवाद पनि दिनुभएको छ । थप के कस्तो सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल थालिएको पनि उहाँले बताउनुभयाे ।










