काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंसीर दोस्रो हप्ता सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको जानकारी दिए ।
उनले भने ‘हामीले मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ । तर काम गर्दै जाँदा केही दिन अघिपछि हुन सक्छ ।’ बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्ने, संपरीक्षण गर्ने लगायतका काम एकैसाथ धमाधम भइरहेको बताए । उनले भने ‘अहिले हामीले सबै काम एक साथ गरिरहेका छौं । सक्दो छिटो नतिजा सार्वजनिक गर्नेछौं ।’











