पवन खड्क, खोटाङ । खोटाङ सदरमुकाम दिक्तेलस्थित दिक्तेल बहुमखी क्याम्पसमा अध्ययन गर्ने दलित विद्यार्थीले उच्च शिक्षा निःशुल्क लिन पाउने भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उक्त क्याम्पसमा अध्ययन गर्ने दलित समुदायका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्न थालेको हो ।
क्याम्पसमा बिहिबार आयोजित कार्यक्रमकाबीच शैक्षिक सत्र २०७८ मा क्याम्पसमा भर्ना भएका २९ जना दलित छात्रछात्रालई छात्रवृत्ति प्रदान गरेर नगरपालिकाले पूर्ण छात्रवृत्ति वितरण कार्यक्रमको सुरुवात गरेको हो । उच्च शिक्षा अध्ययन गर्ने दलित विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने नगरपालिकाको नीतिगत निर्णयअनुसार चालु शैक्षिक सत्रबाट यो कार्यक्रम सुरु गरिएको उपप्रमुख विणादेवी राईले बताउनुभयो ।

यो वर्ष कोरोना महामारीका कारण छात्रवृत्ति वितरण गर्न भने केही ढिलाइ भएको उहाँको भनाइ छ । शिक्षामा समतामूलक पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ दलित समुदायका विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको राईले बताउनुभयो ।
कार्यक्रमपछि अब क्याम्पसमा अध्ययन गर्ने दलित समुदायका विद्यार्थीलाई विभिन्न प्रयोजनका लागि लाग्ने सबै शुल्क छुट हुनेछ । कार्यक्रमलाई आागमी वर्षहरूमा पनि निरन्तरता दिँदै जाने नगरपालिकाको लक्ष्य छ ।












