काठमाडौँ । मध्यपूर्वमा केही दिनयता चर्किएको तनावबीच इजरायल र इरानले तत्कालका लागि सैन्य कारबाही रोकेको घोषणा गरेका छन्। यद्यपि युद्धविराम उल्लङ्घन भए पुनः कडा प्रतिकार गर्ने चेतावनी दुवै पक्षले दिएका छन्।
इजरायली प्रधानमन्त्री नेतान्याहुले हालका लागि आक्रमण रोकिएको जानकारी दिँदै इरान तथा हेजबुल्लाह विरुद्धको सङ्घर्ष पूर्ण रूपमा समाप्त नभएको बताएका छन्। उता इरानी सेनाले पनि तत्कालका लागि सैन्य कारबाही स्थगित गरिएको जनाएको छ। तर भविष्यमा इजरायलबाट थप आक्रमण भए अझ कठोर र विनाशकारी जवाफ दिइने चेतावनी इरानले दिएको छ।

बेरुतमा भएको आक्रमणको प्रतिशोधस्वरूप इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको थियो। त्यसको जवाफमा इजरायलले इरानभित्रका विभिन्न सैन्य संरचनालाई लक्षित गर्दै हवाई हमला गरेको थियो। पछिल्ला घटनाक्रमले क्षेत्रीय सुरक्षा अवस्थालाई थप संवेदनशील बनाएको थियो।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री नेतान्याहूसँग टेलिफोन वार्ता गरी थप सैन्य कारबाही रोक्न आग्रह गरेको बताएका छन्। बीबीसीसँगको कुराकानीमा ट्रम्पले नेतान्याहुले आफ्नो आग्रहलाई सम्मान गरेको दाबी गर्दै दुवै पक्ष शान्ति समझदारीतर्फ अघि बढिरहेको बताएका छन्।










